काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउनसक्ने बताउनुभएको छ । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यसअघिका, हालका वा अब बन्ने प्रधानमन्त्रीभन्दा आफू लगायत युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताउनुभएको हो ।
अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै उहाँले अबको दशक खेर फाल्न नहुने बताउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “म भनेको हामी । म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीहरू भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौं भन्ने कुरा म अहिले पनि विश्वास गर्छु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौं । यति कुरा दाबाका साथ भन्नसक्छु । त्यही चलाउँछौं भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ती प्रयासबाट आएका परिणामहरूलाई पनि स्वीकार्नुपर्छ ।”
महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको र अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्नसक्ने हुनुपर्ने बताउनुभयो ।