काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मधेश प्रदेश सरकारबाट आफ्नो पार्टीलाई अलग गरे संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ । कान्तिपुर समाचारसँगको कुराकानीमा अध्यक्ष राउतले कांग्रेस र एमालेको सहमतिमै मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको भए पनि सरकार फेरबदलको कुरा गरेर काम नै गर्न नदिएको आरोप लगाउनुभयो ।
“उपनिर्वाचनको क्रममा केन्द्रका शीर्ष नेताहरू मधेश प्रदेशमा गएर हामी जनमत पार्टीको सरकार फेर्दै छौं भनेर अभिव्यक्ति दिएका थिए जुन उचित होइन । किनकि, हामीबीच त्यस्तो कुनै छलफल भएको छैन”, अध्यक्ष राउतले भन्नुभयो ।
अध्यक्ष राउतले दुई दलले मधेश प्रदेश सरकारको कामलाई अघि बढाउन नदिएको भन्दै सरकार परिवर्तनमा लागे आफूले संघलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने समेत बताउनुभयो । कांग्रेस एमालेले मधेश प्रदेशको अधिकार खोस्ने गरी दुई दलीय, थ्रेसहोल्ड र समानुपातिक समावेशी निर्वाचन प्रणाली विरुद्ध अघि बढेकाले त्यसको रक्षाका लागि मधेश केन्द्रित दलहरू सहकार्य, मोर्चाबन्दी, पार्टी एकीकरणसम्मको तयारीमा पुगेको अध्यक्ष राउतको भनाइ छ ।
राउतले साना पार्टीहरूको अस्तित्व नै समाप्त पार्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश नै ल्याउन खोजेको भन्दै त्यसको प्रतिवाद समेत गर्ने बताउनुभयो ।