नेपालगन्ज । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल -एपीएफले नेपालगञ्ज सीमा क्षेत्रमा सुरक्षा दिनुको साटो उल्टो अंगभङ्ग नै हुने गरि सर्वसाधारणलाई कुटपिट गरेको गुनासो बढेको छ ।
नेपालगञ्ज नाकामा रहेको एपीएफ ३० नम्बर गणबाट खटिएका प्रहरीले निर्दोष बालकलाई समेत बन्दुकको कुन्दाले हानेर आँखाको ज्योति नै गुमाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सचेत रहन निर्देशन पनि दिएको छ । तर सर्वसाधारण कुटिने क्रम रोकिएको छैन । यसै सम्बन्धमा छानबिन गर्न एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा समिति गठन भएको जानकारी सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्योपानेले दिनुभएको छ । तीन सदस्यीय छानबिन समितिलाई ४ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।
गत मसिर ३० गते करिव १६ सय रुपैयाँको उपभोग्य वस्तु किनेर भारतबाट १३ वर्षीय छोरासँगै फर्किदा मीना साहुलाई चौलिका चेक पोष्टमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए । १६ सय ९० रुपैयाँको वस्तु छाडन १ हजार रुपैयाँ मागेपछि दिन नसक्ने भन्दै उहाँले आफ्नो श्रीमान नन्कुलाई फोन गरेर बोलाउनुभयो । प्रहरीले नियन्त्रणमा लिएको श्रीमतीको झोला नन्कुले मागेपछि ड्यूटिमा खटिएका प्रहरीले उहाँको संवेदनशील अंगमा बुटले हान्दा उहाँ अचेत भएर ढल्नु भयो । सर्वधारणले सशस्त्रको दमनको विरोध पनि गरे । ढलेका नन्कुलाई तत्कालै भ्यानमा राखेर प्रहरीले उपचारार्थ भेरी अस्पताल पुर्याइयो । ठेला गाडामा बदाम बिक्री गर्दै हिडने नक्कु प्रहरीले १० हजार रुपैयाँको श्रृंगार सामाग्री ल्याएको आरोपमा उल्टो फसाउन खोजिरहेको बताउनुहुन्छ ।
सशस्त्र प्रहरी बलको ३० नम्बर गणबाट खटिएका प्रहरीले २०८० भदौ १४ गते नेपाललगन्ज- १४का १२ वर्षीय बालक जायद ढपालीलाई बन्दुकको कुन्दाले हान्दा ढपालीको आाखाको ज्योति नै गुमेको थियो । माछा किनेर घर फर्किदै गर्दा बाटोमा सशस्त्र प्रहरीले स्थानीयमाथि अन्धाधुन्द लाठीचार्ज गर्दै गर्दा नजिकै उभिएर हेर्दै गरेका बालक ढपालीले बाँया आँखा गुमाएका थिए ।
घटनाको अनुसन्धान गरेको राष्ट्रिय मानव अधिकार आयोगले भदौ ३१ गते बल प्रयोग गर्दा मानवअधिकर उल्लंघन भएको ठहर गर्दै बालक ढपालीलाई २ लाख क्षतिपूर्ति दिन प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सिफारिस गर्नुका साथै सशस्त्र प्रहरी बल ३० नम्बर गणलाई अधिकार उंलघन हुन नदिन सचेत रहन निर्देशन दिन आग्रह पनि गरेको थिए । न पीडितले क्षतिपुर्ति पाएका छन् नत सशस्त्र प्रहरीको व्यवहारमा कुनै सुधार देखिएको छ ।
सीमा क्षेत्रमा यस्ता घेरै घटना हुँदै आएका छन् । यो मार्गमा किनमेल गरेर आउनेहरु मध्ये पहुँच नभएका उपभोक्ताले अपमान र गाली सहनु त सामान्य नै भैसकेको छ ।
यस विषयमा हामीले सशस्त्र प्रहरी बलको ३० नम्बर गणमा बुझ्न खोज्दा सशस्त्रका अधिकारीहरु हाम्रो सम्पर्कमा आउन चाहेनन् । चेकपोष्टमा अमानविय व्यवहार दोहोरिन नदिन राष्ट्रिय मावन अधिकार आयोगले प्रधानमन्त्रीलाई पत्राचार गर्दा समेत सशस्त्र प्रहरीको व्यवहारमा कुनै सुधार आएको छैन ।