सक्रिय राजनीतिमा फर्किन पार्टीभित्र आफ्नो ठाउँ खोज्दै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन

मंसिर २८, २०८१ |विकास आचार्य
सक्रिय राजनीतिमा फर्किन पार्टीभित्र आफ्नो ठाउँ खोज्दै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले पार्टीको सक्रिय राजनीतिमा फर्कने चाहना राखेपछि नेकपा माओवादी केन्द्रलाई व्यवस्थापन गर्न सकस भएको छ । पूर्वउपराष्ट्रपति पुन गत कात्तिक २६ गतेदेखि माओवादी केन्द्रको पदाधिकारी बैठकमा नियमित जसो सहभागी हुँदै आउनुभएको छ । अर्कोतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्कन खोजिरहनुभएको छ । झन्डै ८ वर्ष राष्ट्रपति र उपराष्ट्रपति भइसकेका भण्डारी र पुन फेरि सक्रिय राजनीतिमा फर्कनु कति नैतिक हुन्छ ?

माओवादी केन्द्रको जारी स्थायी समितिको बैठकमा औपचारिक एजेन्डामा उल्लेख नरहेको तर नेताहरुबीचमा छलफलको एउटा मूल विषय भएको छ – पूर्व-उपराष्ट्रपति रहिसकेका माओवादीका पूर्व नेता नन्दबहादुर पुनको पार्टीमा पूनरागमन । उपराष्ट्रपतिको पदावधि सकिएको २ वर्ष नपुग्दै पुन फेरि सक्रिय राजनीतिमा फर्किन पार्टीभित्र आफ्नो ठाउँको खोजी गर्दै हुनुहुन्छ । 

यसमा अध्यक्ष पुष्पकमल दाहालको पनि रुची भएको बुझिन्छ । उहाँ गत कात्तिक २६ गतेयता माओवादी केन्द्रको पदाधिकारी बैठकमा गइरहनुभएको छ । उहाँलाई आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टीमा पदसहित औपचारिक रुपमा भित्र्याउने तयारी भइरहेको स्रोतको दाबी छ । तर पुनलाई पार्टीमा फेरि सक्रिय बनाउने या नबनाउने भन्नेमा माओवादी केन्द्रमा एकमत छैन ।

पुनलाई पार्टीमा फर्काउँदा उहाँलाई कुन जिम्मेवारी दिने भन्ने विषयले समेत पार्टीका शीर्ष नेताहरुमा छटपटि भएको देख्न सकिन्छ । सशस्त्र संघर्षका बेला नन्दबहादुर पुन माओवादीका चर्चित नेता हुनुहुन्थ्यो । सशस्त्र युद्धको कमान्डरदेखि माओवादीमा आइपर्ने सबै जसो समस्याको हल पुनबाटै हुने गरेको थियो । 

अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र भएकै कारण पुन देशको दोस्रो उपराष्ट्रपति बन्ने अवसर पनि पाउनुभयो । त्यो पनि दुई कार्यकाल । उपराष्ट्रपति अवकाशपछि राजनीतिमा फर्किनु स्वभाविक भएको र त्यसका लागि आफू इच्छुक रहेको उहाँले बताइसक्नुभएको छ ।

त्यसो त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि एमालेमा सक्रिय हुन खोजिरहनुभएको छ । एमालेमा रिक्त एक उपाध्यक्ष पदमा गुरु बराल मनोनित भएपछि तत्कालका लागि भण्डारीको सम्भावना टरेको छ । तर, एमालेमा मन्त्री, राजदूतदेखि अन्य लाभका पदमा नियुक्ति गर्दा भण्डारीलाई पनि भाग लाग्ने गरेको स्रोतको दाबी छ । एमालेका कतिपय नेताले भण्डारीलाई ११ औं महाधिवेशनपछिको नेताको रुपमा लिन थालिसकेका छन् ।

सामान्यत संवैधानिक राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कँदैनन् । भण्डारी र पुन एकै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति हुनुभएको थियो । तर, पछिल्लो समय दुवै जनाले पार्टीको सक्रिय राजनीतिमा फर्कने चाहना राख्नु संयोग मात्र नभएको कतिपयको बुझाइ छ । जानकारहरु भने राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिले राजनीतिक नैतिकता देखाउनु पर्ने बताउँछन् ।

त्यसो त संविधान वा कानुनमा पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन हुने वा नहुने भनेर लेखिएको छैन । तर, सरकारले सेवासुविधासहित उच्च मर्यादा दिएर राखेका व्यक्ति सबैका साझा हुनुपर्ने हो । यस्ता व्यक्ति फेरि दलीय राजनीतिमा प्रवेश गर्दा कति नैतिक हुन्छ ? जवाफ उहाँहरुसँगै छ। 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement