नवलपरासी । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित पार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
गृहमन्त्री लेखकले सामान्य व्यवसाय गरेर जनताले जम्मा गरेको करोडौं रकम हिनामिना गर्ने माथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्नेजस्ता गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।
प्रेस युनियन नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार उल्लङ्घन नभएको र अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको दाबी गर्नुभयो ।
गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचनसम्मै रहने जिकिर गर्नुभयो । उहाँ पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुनुभएको छ ।