काठमाडौं । चीन भम्रणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी सुरु भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ ।
हाल युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा आगामी पुस २ गते युरोपबाटै नयाँ दिल्ली पुग्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री राणा दिल्लीमा २-३ दिनसम्म बस्ने र प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने परराष्ट्र मन्त्रालयका एक सह-सचिवले जानकारी दिए ।
भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नुहुने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि आगामी जनवरीभित्रै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने गरी दुवै देशका अधिकारीहरुले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
भारतीय सञ्चारमाध्यमले पनि प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी भइरहेको समाचार सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले पनि केही दिनअघि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताउनुभएको थियो ।
मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाउनुभएको थियो । तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा जानुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो ।