अनलाइन मिडियामा अनुशासनहीनता छ, नियमन जरुरी : सञ्चारमन्त्री गुरुङ

मंसिर २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अनलाइन मिडियामा अनुशासनहीनता छ, नियमन जरुरी : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा अराजकता र अनुशासनहीनता रहेको बताउँदै त्यसको नियमन आवश्यक भएको बताउनु भएको छ । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५औं साधारण सभामा बोल्दै उहाँले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको पनि बताउनु भयो ।

प्रिन्ट र ब्रोडकास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना गरिरहेको भए पनि अनलाइन मिडियाहरूले अराजकता मच्चाउने काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो, “आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौं हामी, त्यो मिडियामा देखापरेको जुन खालको अराजकता, अनुशासनहीनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ । त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठिरहेको हुन्छ । राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ । हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ ।”

उहाँले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र यसलाई नियमन गर्ने विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको र संसद् बैठक नभएकाले अड्किएको पनि बताउनु भयो । “मेरो त आग्रह छ, प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौं । संसद्‌बाट संसद् चलेपछि पास गरौंला । आजको आजै नियमन थाल्नुपर्छ । साइबर क्राइम नियमन गर्ने खालको ऐन पनि छैन । साइबर क्राइमलाई नियन्त्रण गर्ने ऐन आज सबैभन्दा बढी चाहिएको छ ।”

मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ‘ड्राफ्ट’ भइरहेको र छिटै मन्त्रिपरिषद्‌बाट पारित हुने विश्वास व्यक्त गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement