विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको छ । माघ ११, १२ र १३ गतेका लागि लगानी सम्मेलन गर्ने प्रारम्भिक मिति तय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको पनि मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोशी प्रदेशमा यस प्रकारको सम्मेलन पहिलो पटक हुन लागेको हो ।
लगानी सम्मेलनबाट झन्डै एक खर्ब बराबरका परियोजनामा लगानी सम्झौता (एमओयू) गर्ने लक्ष्य रहेको कोशी प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले अधिकतम लगानी ३२ करोड रुपैयाँदेखि न्यूनतम १० करोड रुपैयाँसम्मका ६५ देखि ७० वटासम्म परियोजनालाई देखाउने जानकारी दिनुभयो । ती परियोजनाहरू साढे २ खर्ब बराबरका छन् ।
प्राधिकरणले लगानी सम्मेलनमा १ खर्बको हाराहारीमा एमओयू गर्ने लक्ष्य लिएको छ । प्राधिकरणका अनुसार कृषि, पर्यटन, उद्योग, ऊर्जा, आईटी र पूर्वाधार क्षेत्रका परियोजना अघि सारिएको छ ।
कोशी प्रदेश सरकारले प्राधिकरणको सीईओ डा. सरोज कोइरालाको नेतृत्वमा परियोजना छनोटका लागि शोकेस समिति नै बनाएको छ ।
उक्त समितिमा अर्थ, कानुन, पर्यटन, भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालय, योजना आयोगका महाशाखा प्रमुखहरू र निजी क्षेत्रबाट तीन जना सदस्य मनोनीत छन् । यस्तै उद्योग मन्त्रालयका महाशाखा प्रमुख सदस्यसचिव पनि छन् ।
परियोजना छानेर निर्देशक समितिमा पठाइने र निर्देशक समितिले मूल आयोजक समितिलाई पठाउने छ । त्यहाँबाट पारित भएपछि बल्ल सम्झौताको प्रक्रियामा जाने छ । लगानी सम्मेलनका लागि ५ वटा समिति निर्माण भएको छ ।