माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २१ गतेका लागि सर्‍यो

मंसिर २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २१ गतेका लागि सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले तयारी नपुगेको भन्दै पुस २ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक २१ गतेका लागि सारेको सारेको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले तयारी नपुगेको भन्दै केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको हो । अहिले पालिका अधिवेशन पनि चलिरहेका कारण बैठक सार्नुपर्ने अवस्था आएको माओवादी केन्द्रको भनाइ छ । केन्द्रीय समितिको बैठकमा विषयमा निर्णय र एजेन्डा तय गर्न पुस १७ देखि २० सम्म स्थायी समितिको बैठक बस्ने र भोलिपल्टदेखि नै केन्द्रीय समिति बैठक बस्ने भएको हो ।

आगामी केन्द्रीय कमिटीको बैठकबाटै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा दिने जिम्मेवारीबारे निर्णय गर्ने तयारी माओवादी केन्द्रको छ । आजको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा जनमत देखिएको बताउनुभयो ।

माओवादी केन्द्रले अहिलेको सत्ता गठनबन्धनलाई जनताले नरुचाएको, गठबन्धन दल जनताका मुद्दामाभन्दा पनि आन्तरिक विषयहरुमा अलमलिएको निष्कर्ष निकालेको छ । विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालयदेखि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागसम्मै सरकारले अनावश्यक हस्तक्षेप बढाएको ठहर पनि माओवादी केन्द्रले गरेको छ ।

बैठकमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेला चीन भ्रमणका क्रममा उठाएका एजेन्डालाई नै प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएकाले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement