प्रधानमन्त्री ओली चीन प्रस्थान

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नु भएको छ । चार दिने भ्रमणका लागि उहाँ आज बेइजिङतर्फ जानु भएको हो ।

चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री ओली आज बिहान ११ बजे हिमालयन एअरलाइन्सको जहाजबाट बेइजिङ जानु भएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डल सहित र एक्लाएक्लै समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको छ भने मंसिर १८ गते नै दुईपक्षबीच महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षार गर्ने कार्यतालिका रहेको छ । 

भ्रमणको तेस्रो दिन बुधबार प्रधानमन्त्री ओलीले नेपाली र चिनियाँ व्यापारीहरूको भेलालाई सम्बोधन गर्नु हुनेछ भने केही स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु हुनेछ । त्यही दिन प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा विकासका पूर्वाधार लगायत कनेक्टिभी व्यापार लगायतमा सम्झौता गर्ने तयारी भइरहेको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको यस पटकको चीन भ्रमणको कार्यतालिका निकै व्यस्त रहेको र निश्चित बाहेक अन्य केही कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृत राईले बताउनु भयो । प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमण पूरा गरी बिहीबार दिउँसो स्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी र निजी क्षेत्रका गरी झन्डै ९० जना सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.