काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदघोटालाका प्रमुख योजनाकार दीपक शर्मामाथि अमेरिकी अदालतमा पनि मुद्दा चलिरहेको खुलेको छ । जहाज खरिद प्रकरणमा घुस खुवाएको अभियोगमा अमेरिकाको कोलम्बिया जिल्ला अदालतले शर्मालाई दोषी ठहर गरिसकेको छ, जसको सजाय तोक्न बाँकी छ । नेपालीमूलका बेलायती नागरिक शर्माले आयरल्याण्ड, दुबइ र अमेरिकाको बैंकमार्फत् घुस वापत कम्तिमा ४० लाख डलर बुझाएको सूचना नेपाली अनुसन्धानकर्तालाई पनि प्राप्त भएको छ ।
नेपाल एयरलायन्सले खरिद गरेका दुइवटा वाइडबडी जहाजमध्ये एउटा२०७५ असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गर्यो । जहाजबाट मुस्कानसहित निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टीम ओर्लियो । कंसाकारसँगै पछाडि थिए जहाज खरिद गर्न प्रयोग भएको एएआर कम्पनीका संचालक दिपक शर्मा । तिनै शर्माविरुद्ध २३ अर्बमा दुईवटा जहाज खरिद गराउँदा घुस खुवाएको अभियोगमा अमेरिकामा पनि मुद्धा चलेको खुलेको छ ।
नेपाली मुलका बेलायती नागरिक शर्मा एएआर कम्पनीका संचालक हुन् । अमेरिकालाई आधार बनाएर जहाजसम्बन्धी काम गर्दै आएका शर्माले नेपालीसहित विदेशी एजेण्टलाई समेत घुस खुवाउन अमेरिकाको बैंकसमेत प्रयोग गरेको खुलेको हो । अमेरिकाको कोलम्बिया अदालतले वाइडबडी जहाज खरिदमा नेपाली पदाधिकारी र केही विदेशीलाई समेत घुस खुवाएको ठहर गरिसकेको छ । गत अगष्टमा सार्वजनिक भएको यो समाचार अनुसार उनलाई सजाय तोक्न भने बाँकी छ । अमेरिकी संचार माध्यमहरुले समेत यसको पुष्टि गरेका छन् । नेपालमा अनुसन्धान गरिरहेको संयन्त्रले प्राप्त गरेको बैंक विवरण अनुसार जहाज खरिदमा घुसवापत दुबई, आयरल्याण्ड र अमेरिकाबाट ४० लाख डलरको कारोबार भएको छ । कोलम्बिया अदालतको अभियोग पत्रमा पनि अमेरिकाको न्युजर्सीस्थित बैंकबाट आयरल्याण्डको बैंकमा पैसा पठाइएको उल्लेख छ। त्यही पैसा नेपाली र विदेशीलाई घुसवापत दुबईस्थित एक नेपाली व्यवसायीको फर्ममार्फत् भुक्तानी भएको दाबी गरिएको छ ।
२०७३ फागुन ४ देखि २०७५ साउन ८सम्ममा महाप्रवन्धक कंसाकारले २१ करोड ६३ लाख डलर भुक्तानी दिएका थिए । २३० टन भारवहन क्षमता भएको जहाजका लागि २४२ टन क्षमतावापतको पैसा बुझाइएको थियो । ६६ लाख डलर बढी बुझाएका दीपक शर्माको कम्पनी एएरआरर निगमबीच सुरुवातमैसम्झौता भएको कागजातले पुष्टि गरिसकेको छ । वायुसेवा निगमको जहाज खरिद गरेकै कम्पनीका संचालकलाई अमेरिकाले घुस खुवाएको आरोपमा दोषी ठहर गरेपछि अख्तियारलाई घुसमा छुट्टै अनुसन्धानको दबाव बढेको छ । दिपक शर्मा तथा निगमका तत्कालीन संचालक समितिका पदाधिकारीसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोड भ्रष्टाचारको मुद्धाविषेश अदालतबाट पनि फैसला हुने चरणमा छ । निगमको जहाज खरिद प्रक्रियाको सुरुवातबाटै आर्थिक चलखेल भएको प्रमाणसहित तथ्य कान्तिपुर टेलिभिजनले सार्वजनिक गरिसकेको छ ।
यो पनि हेर्नुहोसः
वाइडबडी जहाज घोटालामा सुरुदेखि नै यसरी गरिएको थियो चलखेल (गोप्य दस्ताबेजसहित)