फायर साइडमा योगेन्द्र यादव : नेपालसँगको सम्बन्ध सुधारमा पहिलो पहल भारतकै हुनुपर्छ

मंसिर १७, २०८१ |रुपेश श्रेष्ठ
फायर साइडमा योगेन्द्र यादव : नेपालसँगको सम्बन्ध सुधारमा पहिलो पहल भारतकै हुनुपर्छ

विश्वका पचासौं देशमा यो वर्ष निर्वाचन हुँदैछ जसले ति देशमा नयाँ सरकार र नयाँ नेतृत्व चुन्नेछन्। लोकतन्त्रिक अभ्यास गरिरहेका मुलुकहरुमा भइरहेका निर्वाचनमा मतदाताको सहभागितालाई लोकतन्त्रको एउटा आधारशिला मान्ने गरिन्छ। तर लोकतन्त्र खाली निर्वाचनमात्र होइन, राजनीतिक नेतृत्वहरुको प्रवृत्ति, सरकारका नीति, सरकारहरुको जवाफदेहितामात्र होइन, नागरिक र समाजले समेत लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई व्यवहारमा अंगिकार नगरी लोकतन्त्रको अभ्यास सही अर्थमा हुन सक्दैन । फायरसाइडको आजको अंकमा लोकतन्त्रको बहुआयामिक पक्षहरुमाथि चर्चा गरिएको छ ।

आफूलाई संसारकै सबैभन्दा ठूलो लोकतन्त्रका रुपमा मान्ने भारतमा राजनीतिक अभियानहरुलाई तल्लो तहसम्म पुर्‍याउने कार्यमा लगातार लागिरहेका एक राजनीतिक चिन्तक र अभियन्ताको नाम हो, योगेन्द्र यादव । कुनै समय भारतमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको आम आदमी पार्टी 'आप'का संस्थापक मध्येका एक यादवसँग केही साताअघि काठमाडौंमा रहँदा गरिएको संवाद आजको अंकमा प्रसारण गरिएको हो । 

यादव भारतमा सेफोलोजिस्ट अर्थात् निर्वाचन र मतदान विश्लेषकका रुपमा परिचित हुनुहुन्छ । यद्यपि यो संवादमा उहाँको यो विज्ञताका विषयमा कमै मात्र कुरा गरिएको छ । यो अन्तर्वार्तामा भारतमा प्रतिपक्षीका रुपमा भारतीय कांग्रेसको बढ्दो शक्ति, नरेन्द्र मोदी सरकारको गिर्दो साख र नयाँ एवं वैकल्पिक शक्तिका रुपमा आएको आम आदमी पार्टीप्रति यादवले धारणा राख्नुभएको छ।

साथै, नरेन्द्र मोदी सरकारका आलोचक यादवसँग नेपाल र भारतसँगै संसारमै लोकतन्त्रकै अभ्यासका विषयमा उठेका प्रश्नहरु गरिएको छ । नेपाल र भारतबीचको सम्बन्धमा आएका उतारचढावका बारेमा पनि यादवका स्पष्ट धारणाहरु आएका छन् ।

भारतमा मोदीको राजीतिक भविष्य, अमेरिकामा डनल्ड ट्रम्पको पूनर्उदय, निर्वाचित सरकारहरु र निर्वाचन प्रणाली, अनि संसारभर लोकप्रियतावादको उभार र वैकल्पिक राजनीतिक शक्तिहरुमाथिका उहाँका विचार यो संवादमा समेटिएका छन् ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।