काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चार वटा विषयको समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । यही मंसिर १७ गते चीनको पाँच दिने औपचारिक भ्रमणमा निस्कन लाग्नु भएका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा चार वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
भ्रमणका क्रममा भौतिक पूर्वाधार तथा विकास तथा सीमापार प्रसारण लाइन सम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणमा दुई देशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको थियो । पाँच वर्षअघि नै अध्ययन शुरू भए पनि आयोजना अहिलेसम्म अलपत्र छ ।
त्यसैगरी यसपटक अस्पताल विस्तार र वाणिज्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको कार्यतालिका निकै व्यस्त रहने परराष्ट्रले जनाएको छ । तर बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) सम्बन्धी कुनै पनि परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम अहिलेसम्म तय भएको छैन । यद्यपि सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भए त्यसको सम्भावना पनि रहेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका वेला ऋण सम्बन्धी कुनै पनि परियोजनामा सम्झौता नहुने बताउँदै आउनु भएको छ । मंसिर १७ गते चीन भ्रमणमा निस्कनुहुने प्रधानमन्त्री ओलीले भोलिपल्ट अर्थात् मंसिर १८ गते महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गर्नु हुनेछ । उक्त दिन चीनका प्रधानमन्त्री, चिनियाँ जनकंग्रेसका अध्यक्ष र राष्ट्रपति सी चिन फिङसँग राजनीतिक भेटवार्ता गर्नु हुनेछ ।
त्यसैगरी चीनमा रहँदा प्रधानमन्त्री ओलीले मंसिर १९ गते नेपाली र चिनियाँ व्यवसायीहरूको गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्रीले बेइजिङ विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा प्रवचन दिने समेत कार्यतालिका छ । प्रधानमन्त्री ओली मंसिर २१ गते स्वदेश फर्कनु हुनेछ ।