बीआरआई अघि बढाउन प्रधानमन्त्री डराउनु हुँदैन : नेता नेपाल

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआई अघि बढाउन प्रधानमन्त्री डराउनु हुँदैन : नेता नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिशिएटिभ) परियोजना अघि बढाउने कुरामा प्रधानमन्त्री केपी शर्मा ओली डराउन नहुने टिप्पणी गर्नु भएको छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाउनु भएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष नेपालले बीआरआई परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताउनु भयो । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उहाँको भनाई थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले त्यसलाई स्वाभाविक रूपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, “बीआरआई स्वाभाविक रूपमा नेपालले स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । दक्षिणका देशहरूको साउथ कोअपरेशनभित्र यो पर्दछ । यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनु पर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौं । लाभ लिने गरेका छौं । झन् बीआरआईसँगमा हामी विभिन्न सरकारहरू उहिले नै आबद्ध भइसकेका छौं । त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनु पर्ने आवश्यकता छ । बीआरआईसँग हामी डराएका छैनौं ।’

अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुने गरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.