चीनसँग बढ्दो व्यापार असन्तुलन

मंसिर ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनसँग बढ्दो व्यापार असन्तुलन

काठमाडौं । नेपालले उत्पादन बढाउन नसक्दा र गुणस्तर मापदण्ड पूरा गर्न नसक्दा चीनसँगको व्यापार असन्तुलन बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालबाट एक अर्ब ७६ करोडको वस्तु चीनतर्फ निर्यात हुँदा चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोडको वस्तु आयात भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको कात्तिकसम्म एक खर्ब तीन अर्बको वस्तु आयात गर्दा ६८ करोडको मात्रै निर्यात गर्न सकेको छ । व्यापार सन्तुलन मिलाउन दुई पक्षीय व्यापार सम्झौता हुने गरे पनि नेपालले लाभ लिन सकेको छैन । गत वर्ष नेपालबाट १० ट्रक साइलेस घाँस चीन निर्यात भए पनि त्यसले निरन्तरता पाउन सकेन । नेपालबाट कृषिजन्य, हस्तकला लगायतका वस्तु चीन निर्यात गर्न सकिने भए पनि उत्पादन बढाउन नसकिएको सरकारको भनाइ छ ।

प्राचीनकालमा नेपालले भोट अर्थात तिब्बतसँगको व्यापारबाट वार्षिक करोडौं रुपैयाँ आर्जन गर्ने गरेको भए पनि अहिले भने आयातको एक प्रतिशत हाराहारी मात्रै निर्यात गर्ने गरेको छ । नेपाल-चीन व्यापार सम्झौता १९८१ को पुनरावलोकनका लागि गर्ने भनिए पनि त्यसको काम पनि अघि बढेको छैन । नेपालबाट चीनमा गलैंचा, कृषिजन्य वस्तु, हस्तकला, तयारी पोशाक, छालाका तयारी सामान, चिया लगायतका सामान निर्यात हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.