काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणअघि आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे चीन भ्रमणको एजेन्डालाई लिएर पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली अर्को साता पाँच दिने भ्रमणका लागि उत्तरी छिमेकी चीन जाने निश्चित भइसके पनि अहिलेसम्म सरकारले औपचारिक निर्णय भने गरेको छैन । मंसिर १७ देखि २१ गतेसम्म हुने प्रधानमन्त्रीको भ्रमणका एजेन्डाबारे आन्तरिक तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा चीन सरकारले बीआरआई अन्तर्गत उपलब्ध गराउने आयोजनाहरु ऋण कि अनुदानमा लिने भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुन सकेको छैन । यो विषयमा दुई दलका नेताहरुले आन्तरिक गृहकार्य गरिरहे पनि मध्यविन्दु पहिल्याउन सकिरहेका छैनन् । दुई दलका शीर्ष नेताहरुले सार्वजनिक रुपमै बीआरआईका परियोजनामा ऋणमा सम्झौता नहुने धारणा राख्दै आएका छन् ।