काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।
“खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहान्छु’’, उहाँले भन्नुभयो । उहाँले क्यानलाई महिलाका लागि पनि एनपीएल आयोजना गर्न सुझाव दिनुभयो ।