काठमाडौं । भारतमा उत्तर प्रदेशको सम्भल शहरमा एउटा मस्जिदको सर्वेक्षणको विषयलाई लिएर भएको हिंसात्मक झडपमा ४ जनाको मृत्यु भएको छ । झडपपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आइतबार मुगलकालिन जामा मस्जिदको अदालतको निगरानीमा सर्वेक्षण गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा चार जनाको मृत्यु हुँदा थुप्रै मानिस घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको प्रदर्शनकारीले आरोप लगाएका छन् ।
प्रहरीले भने प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेको र सर्वेक्षण टोलीलाई सुरक्षित निकास दिन अश्रुग्यास र प्लास्टिकका गोली चलाइएको दाबी गरेको छ ।
अधिकारीहरुले हिंसासँग सम्बद्ध रहेको भन्दै २१ जनालाई नियन्त्रणमा लिएको जनाएका छन् । त्यस क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ भने आज एक दिनका लागि विद्यालयसमेत बन्द गरिएको छ । एउटा ध्वस्त पारिएको मन्दिर रहेको स्थानमै उक्त मस्जिद निर्माण गरिएको भन्दै परेको मुद्दामा गत साता स्थानीय अदालतले सर्वेक्षणको आदेश दिएको थियो । सन् १५२० को दशकमा मुगल शासक बाबरको आदेशमा भत्काइनु अघि सो स्थानमा एक मन्दिर रहेको दाबी गर्दै अदालतमा मुद्दा परेको थियो। अदालतले गत मंगलबार आदेश दिएको मा सोही दिन नै उक्त मस्जिदको पहिलो चरणको सर्वेक्षण गरिएको थियो भने आइतवार दोस्रो चरणको सर्वेक्षण गरिँदै थियो ।
यसैबीच भारतीय विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले उक्त घटनाका लागि उत्तर प्रदेश सरकारको भर्त्सना गर्नुका साथै यस मामिलामा हस्तक्षेप गर्न सर्वोच्च अदालतलाई आह्वान गर्नुभएको छ ।
मुगल शासनका बेला थुप्रै मन्दिर भत्काएर त्यसको स्थानमा मस्जिद बनाइएको आरोप केही हिन्दुवादी समूहले लगाउँदै आएका छन् ।