बीआरआईबाट ऋण लिनै हुँदैन भन्ने अडान पूर्वाग्रही : पूर्व प्रधानमन्त्री खनाल

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआईबाट ऋण लिनै हुँदैन भन्ने अडान पूर्वाग्रही : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एन्ड रोड इनिशिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ दल कांग्रेसको अडानप्रति आपत्ति जनाउनु भएको छ । सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूको छलफलपछि सञ्चारकर्मीमाझ उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत ऋण लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताउनु भयो । उहाँले सो परियोजना विश्वका दुईतिहाइ मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपाल जस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि बताउनु भयो ।

सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनै पनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाइ थियो । उहाँले भन्नु भयो, “बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री (सार्वभौम राष्ट्र) हो नि । कुन प्रोजेक्टमा हामी अनुदान लिनसक्छौं, कुन प्रोजेक्टमा हामी लोन लिनसक्छौं त्यो नेगोशिएशनमा भर पर्छ । कुन प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौं, नेगोशिएशनमा भर पर्छ । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरूसँग, विदेशहरूसँग सम्बन्ध राख्नु पर्छ । र बीआरआईबाट हामीले लोन चाहिँ लिनै हुँदैन भन्ने खालको जुन कुराहरू आएको छ, यो पूर्वागहपूर्ण कुराहरू मात्रै हो ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.