राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न प्रदान

मंसिर ६, २०८१
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको छ । नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच द्विवेदीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । 

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायतको उपस्थिति थियो । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविंदले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।