बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जारी

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस र एमाले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायत सरकार सञ्चालनबारे मुख्य एजेन्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एमालेकातर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल रहनुभएको छ भने कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहनुभएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका नजिकिँदै गर्दै सत्तारुढ दुई दलका शीर्षनेताहरुको भेटवार्ता भएको हो । यसैबीच प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीलाई लिएर परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिरको दोस्रोसाता चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

यसअघि राणा स्वास्थ्य उपचारका लागि जापान जानुहुने र जापानबाटै प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि चीन जानुहुनु परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको तयारी र एजेन्डाबारे केहिदिनमै टुङगो लाग्ने समेत परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।

चीन भ्रमणका बेला दुईपक्षबीच हुने एजेन्डाका विषयमा टुङगो लागेपछि परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा निस्कनुहुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.