एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेका दलहरुले किन बनाए उपनिर्वाचनमा गठबन्धन ?

मंसिर ३, २०८१ |किरण पौडेल
एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेका दलहरुले किन बनाए उपनिर्वाचनमा गठबन्धन ?

काठमाडौं । २०८४ सालमा हुने आमनिर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेका दलहरु मंसिर १६ मा हुने उपनिर्वाचनमै गठबन्धन गरेर होमिएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले समेत उपनिर्वाचन हुने दुई जिल्ला समन्वय समिति र स्थानीय तहका दुई ठाउँमा गठबन्धन गरेका छन् । नेकपा माओवादी केन्द्रले केही साना दलको साथ लिएर उम्मेदवारी दर्ता गरेको छ भने केही दलले उम्मेदवारसमेत भेटाउन सकेनन् । उपनिर्वाचनमा सहभागी हुने भन्दै निर्वाचन आयोगमा २५ दल दर्ता भएका थिए । ४४ पदका लागि हुने उपनिर्वाचनमा ४ सय १० जना चुनावी प्रतिस्पर्धामा छन् ।

अबका सबै निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेका नेपाली कांग्रेस, नेकपा एमालेले मात्र होइन, नेकपा माओवादी केन्द्रले पनि मंसिर १६ गते हुने उपनिर्वाचनमा केही ठाउँमा गठबन्धन गरेरै प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तारुढ कांग्रेसले ४४ पदमध्ये ४३ पदमा मात्र उम्मेदवारी दिएर एउटा पद एमालेलाई छाडेको छ । 

त्यसैगरी एमालेले ४४ मध्ये ४० पदमा मात्र उम्मेदवारी दिएको छ । जिल्ला समन्वय समितिमध्ये ओखलढुंगामा कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेदवारी परेको छ । त्यहाँ एमालेले साथ दिएको छ । त्यसैगरी जिसस कैलालीमा पनि एमालेले कांग्रेसका उम्मेदवार टीका चौधरीलाई समर्थन गरेको छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीकी रुक्मती डगौरा थारुको पनि उम्मेदवारी परेको छ ।

स्थानीय तहतर्फ रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा कांग्रेसको रुख चुनाव चिह्नबाट एमालेकी केशकुमारी तुलाचनको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ प्रमुख दुई दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भने पनि आखिर चुनावमा किन तालमेल गरे त ? काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी सहकार्य गर्ने सहमति भए पनि दुवै दलले आ-आफ्नै उम्मेदवार उठाएका छन् । 

अन्य केही पालिकामा भने माओवादीले एकीकृत समाजवादीसहितका केही विपक्षी दलहरुसँग गठबन्धन गरेको छ । माओवादीले ४४ पदमध्ये ४३ ठाउँमा मात्र उम्मेदवार उठाएको छ । काठमाडौं-१६ मा माओवादीले उम्मेदवार उठाएको छैन ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले २१ ठाउँमा उम्मेदवार उठाएको छ । पहिलो पटक स्थानीय तहको उपनिर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले सबै स्थानमा उम्मेदवार पाउन सकेन । उसले अरु दलसँग गठबन्धन नगरे पनि २६ पदका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपा नेपालले हेटौंडा उपमहानगरपालिका- १२ को अध्यक्षमा राप्रपाका उम्मेदवारलाई समर्थन गरेको छ । राप्रपाले ३६ पदमा उम्मेदवारी दिएको छ । जसपाले १४ र जसपा नेपालले १२ पदमा उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता २५ दल दर्ता भएका थिए । अहिले उम्मेदवारी दर्ताको क्रम सकिए पनि दलहरुबीच अझै तालमेलको प्रयास जारी राखेका छन् । मंसिर १६ गतेको उपनिर्वाचनबाट जिल्ला समन्वय समितिका दुई जना प्रमुख, स्थानीय पालिका प्रमुख र उपप्रमुख गरी ८ तथा ३४ वडाध्यक्ष गरी ४४ जना प्रतिनिधि चयन हुने छन् । अब एक्लाएक्लै चुनावमा होमिने भनेका दलहरुले यो उपनिर्वाचनमै गठबन्धन गर्नुले आगामी संसदीय निर्वाचनमा पनि एकअर्काविरुद्ध मोर्चाबन्दीमा हुने संकेत गर्छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।