६ नेतालाई शेखर कोइरालाका ६ सुझाव

मंसिर ४, २०८१ |रुपेश श्रेष्ठ
६ नेतालाई शेखर कोइरालाका ६ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकार सञ्चचालनका लागि गठबन्धन गर्दा भएका सहमतिलाई अक्षरश: पालना गर्न सुझाव दिनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै कोइरालाले यस्तो सुझाव दिनुभएको हो । 'सात बुँदेमा जे कुरा लेखिएको छ, त्यसलाई अक्षरश: कार्यान्वयन गर्न लाग्नुहोस्, हाम्रो पूरा साथ रहनेछ', कोइरालाले ओलीलाई एक वाक्यमा सुझाव दिँदै भन्नुभयो ।

संविधान संशोधन, सुशासन स्थापना र अर्थतन्त्रलाई चलायमान बनाउने लगायतका विषयमा भएको सहमति कार्यान्वयनमा वर्तमान सरकार अघि नबढेकोमा असन्तुष्टि पोख्नुभएका कोइरालाले संविधान संशोधनका विषयमा सरकारले छलफलसमेत सुरु नगरेकोमा आश्चर्य प्रकट गर्नुभयो । 'नेपाली कांग्रेस पार्टीभित्र पनि यसबारेमा छलफल सुरु भएको छैन', कोइरालाले भन्नुभयो ।

कार्यक्रममा कोइरालाले आफ्नै पार्टीका सभापति देउवासहित ५ नेतालाई पनि सुझाव दिनुभयो । कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको महाधिवेशन निर्धारित समयमा गर्न सुझाव दिनुभएका कोइरालाले परराष्ट्रमन्त्री आरजू देउवालाई भने चीनको बीआरआई परियोजनाका बारेमा स्पष्ट संवाद गर्न सुझाव दिनुभयो । परराष्ट्रमन्त्री देउवा हाल प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको तयारीमा हुनुहुन्छ । 'फ्रेमवर्कमा हामीले हस्ताक्षर त गर्‍यौं, तर फ्रेमवर्कमा के छ भन्ने विस्तृतमा खुलेको छैन,' उहाँले भन्नुभयो, 'हामी सुन्दैछौं अहिले, यसको इम्प्लिमेन्टेसन प्लान आएको छ । त्यसमा पनि के छ भन्ने धेरै थाहा छैन । त्यसलाई डिस्कोर्समा ल्याएर अगाडि बढौं ।'

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सहकारी संस्थाहरुबाट रकम फिर्ता नपाएकाहरुको माग सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'हामी खाली सहकारी पीडकहरुलाई कारबाही गर्न लागेका छौं । तर सहकारी पीडितहरुको रकम कसरी फिर्ता गर्ने भन्नेमा ध्यान पुगेको छैन ।'

यस्तै नेता कोइरालाले पर्यटनमन्त्री बद्री पाण्डेलाई भने नेपाल एयरलइन्सलाई धरासयी हुनबाट जोगाउन सुझाव दिनुभयो । मन्त्री पाण्डेले वायुसेवा निगम र नागरिक उड्डययन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा अलग गर्ने र नेपालको वायुसेवालाई ईयूको कालोसूचीबाट हटाउन छिटोभन्दा छिटो पहल गर्नुपर्नेमा कोइरालाले जोड दिनुभयो ।

सोमबार कान्तिपुर टेलिभिजनमा प्रसारित फायरसाइडमा कोइरालाको पार्टीको नेतृत्वका लागि सक्षम नेताका रुपमा कार्यकर्ताले आफैंलाई हेरिरहेको समेत दाबी गर्नुभयो । उहाँको भनाइ थियो, 'सभापति देउवाले गगन थापालाई आफ्नो क्याम्पमा लगे पनि मलाई कुनै चिन्ता छैन । किनभने पार्टीलाई बलियो बनाउन कसले सक्छ भन्नेबारे कार्यकर्ताबाट मैले अर्कै कुरा सुनेको छु ।'

कार्यक्रममा कोइरालाले सरकारले बिजुलीको वक्यौता उठाउनुको साटो विद्युत् प्राधिकरणलाई लाइन काटिएका उद्योगको लाइन जोड्न दबाब दिइरहेकोमा असन्तुष्टि पोख्नुभयो । 'उद्योगहरुबाट उठाउनुपर्ने वक्यौतामा सरकारको ध्यान छैन,' उहाँले भन्नुभयो, 'तर लाइन जोड्नमा मात्र सरकार लागिरहेको छ । सरकार गलत भाष्य निर्माण गर्न लागिरहेको छ ।'

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा विपक्षी दलका नेता पुष्पकमल दाहालले गरेको टिप्पणी भ्रम फैलाउने प्रयत्न मात्रै भएको उहाँको ठहर छ । दाहालले एक भारतीय संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको भन्दै आलोचना गर्नुभएको थियो ।

'पूर्वप्रधानमन्त्री भइसकेको नेताले त्यसरी टिप्पणी गर्नु गलत हो, हास्यास्पद हो। उहाँ भ्रम फैलाइरहनु भएको छ,' कोइरालाले भन्नुभयो । आफ्नो पार्टीले त्यस विषयमा कुनै प्रतिक्रिया नजनाएकोमा भने उहाँले खिन्नता प्रकट गर्नुभयो ।  

पूरा अन्तर्वार्ता  भिडियोमा :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement