आरसीबीको जितको कथा : विश्वास, धैर्य र अटल निष्ठाको गाथा

जेष्ठ २१, २०८२ |खेल ब्युरो
आरसीबीको जितको कथा : विश्वास, धैर्य र अटल निष्ठाको गाथा

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु १८ वर्षको प्रतीक्षा तोड्दै इन्डियन प्रिमियर लिग २०२५ को च्याम्पियन बन्यो । यो क्षण आरसीबीमा १८ वर्ष बिताएका विराट कोहलीका आँखा रसाए । 

बैंगलुरुका समर्पित समर्थकहरूले सुन्दर उपहार पाए भने 'ई साला कप नम्दे' को नारा 'ई साला कप नम्दु' मा रूपान्तरित भयो । अर्थात् 'यो वर्ष कप हाम्रो हो' भनिँदै अएकोमा 'यो वर्ष कप हाम्रो भयो' मा परिणत भएको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियमबाट मंगलबार राति सुरु भएको विजय उत्सव बैंगलुरुमा आज पनि जारी छ ।

आरसीबीले १८ वर्षको लामो प्रतीक्षा समाप्त पार्दै आईपीएल २०२५ को मुकुट पहिरिएको छ । मङ्गलबार राति भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै आरसीबीले इतिहासको स्वर्णिम पाना लेख्यो ।

मंगलबारको रात आरसीबीका लागि उत्सवमा परिणत हुँदा पञ्जाब उपाधि नजिक पुगेर पराजित भयो । यो जित कप्तान रजत पाटीदार र आरसीबीका अटल समर्थकहरूलाई सानदार उपहार भयो । हार, निराशा र आलोचनाको आँधीमा पनि साथ नछोड्ने प्रशंसकहरूका लागि यो ताज प्रतीक्षाको मीठो फल बन्यो । उपाधिले लेजेन्डरी क्रिकेटर विराट कोहलीको आँखामा हर्षका आँसु समेत झरे । उनले आफ्नो यौवन र अनुभव यो टोलीलाई अर्पण गरेका थिए । 

अन्ततः उनको सपना साकार भयो । भावविभोर हुँदै उनले पत्नी अनुष्का शर्मा र पूर्वसहकर्मी एबीडी भिलियर्सलाई अँगालो हाले, जुन क्षणले करोडौं हृदयलाई तरंगित गर्यो ।

पहिले ब्याटिङ गर्दै आरसीबीले १९० रन बनाएको थियो । ब्याटिङमा सबै खेलाडीको संयुक्त प्रयासमा आरसीबीले राम्रो योगफल तयार पारेको थियो । बलरहरूले त्यसलाई डिफेन्ड गरे । क्रुणाल पाण्ड्याले १७ रन खर्चेर २ विकेट लिँदा त्यो जादूमय स्पेलले इतिहास रच्यो । 

जोश हेजलवुड, भुवनेश्वर कुमार र रोमारियो शेफर्ड पनि पञ्जाबका लागि अवरोध बने । पञ्जाबका श्रेयस अय्यर ऐतिहासिक खेलमा चुक्न पुगे । शशांक सिंहको ६१ रनको एकल सङ्घर्षले खेललाई अन्तिमसम्म रोमाञ्चक बनायो । अन्तिम ओभरमा २९ रन चाहिएकोमा उनले २२ रन जोडे । तर त्यो पर्याप्त भएन । क्रुणालले दोस्रो पटक आईपीएल फाइनलमा 'प्लेयर अफ द म्याच' जितेर इतिहास रचे ।

जब हेजलवुडले अन्तिम ओभरका सुरुआती २ बल डट राखे र आरसीबीको जित सुनिश्चित गरे, सबैभन्दा बढी खुशी र बढी भावुक कोही थियो भने विराट नै थिए । किनकि १८ वर्ष आरसीबीमा रहेर उनले देखेको सपना पूरा भएको छ । 

सन् २००८ मा दिल्ली डेयरडेभिल्स, हाल दिल्ली क्यापिटल्सले अन्डर-१९ विश्वकप विजेता टोलीको ड्राफ्टमा विराट कोहलीलाई छनोट नगरी बायाँ हाते बलर प्रदीप साङ्गवानलाई रोजेको थियो । सायद दिल्लीलाई त्यतिखेर आभाससम्म थिएन होला, कोहलीले यति उचाइ लिन्छन् भनेर । 

अहिले प्रशिक्षक एन्डी फ्लावरको रणनीतिले टोलीलाई उपाधि दिलाएको छ, जुन विश्वास, धैर्य र अटल निष्ठाको अमर गाथा पनि हो ।