काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिट्टै खुल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संसद् अवरुद्ध रहेको र आज वा भोलिमै संसद् सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षहरुले छानविन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताउनुभयो । जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको बताउनु भयो । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘संसद अवरुद्ध छ । दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ । एउटा गृहमन्त्रीको राजीनामाको माग छ । अर्को छानविन समिति गठन होस् भन्ने छ । हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिएपछि पुग्छ । गृहमन्त्रीको विरुद्धमा ठोस प्रमाणसहितको कुनै केही छैन । गृहमन्त्रीको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित होइन । गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि संसद खोल्नुपर्छ । तीन नेताहरुबीच पनि छलफल भएको छ । सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ ।’
मन्त्री गुरुङले यस बारेमा शिर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताउनुभयो ।