पदक जित्ने खेलाडीलाई सरकारले दिएन लागत खर्च

जेष्ठ २१, २०८२ |खेल ब्युरो
पदक जित्ने खेलाडीलाई सरकारले दिएन लागत खर्च

काठमाडौं । उसुका २ खेलाडीहरूले आठ महिनाअघि जापानको थाउलो विश्वकपमा देशका लागि कास्य पदक जिते पनि सहभागी हुँदाको खर्च सरकारले नदिँदा एशिया कपमै सहभागी हुनबाट वञ्चित हुने अवस्था आएको गुनासो गरेका छन् ।

सन् २०२४ अक्टोबर २३ देखि २७ सम्म जापानको योकोहामामा भएको उसुको थाउलो विश्वकपमा ५ खेलाडी सहभागी भएका थिए, जसमा विजय सिञ्जालीले काँस्य पदक जितेका थिए । उक्त प्रतियोगितामा सहभागी हुँदाको खर्च निकासाका लागि खेलकुद मन्त्रालयमा पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको उनीहरूको गुनासो छ । 

उक्त रकम नतिरेकै कारण आगामी जुलाई २ देखि चीनको जिलिङमा हुने एसिया कपमा समेत सहभागी हुन वञ्चित हुने अवस्था आएको खेलाडीहरूको भनाइ छ । उक्त प्रतियोगितामा दीपक हमाल र शिव सिलवाल छनोट भएका थिए ।

खेलाडी हमालसहित विजय सिँजाली, पासाङ शेर्पा, राजिव तामाङ र निमा घर्ती मगरले जापानको थाउलो विश्वकपमा सहभागिता जनाएका थिए । विश्वकपबाट फर्केर आएको केही महिनापछि त्यहाँ तिर्नुपर्ने रकम विश्व उसु महासंघले माग गरेको र सरकारलाई आफूहरूले पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ । 

खेलकुद परिषद्ले रकम दिन प्रक्रिया अघि बढाए पनि मन्त्रालयले रोकिदिएको खेलाडीहरूले बताएका छन् । नेपाली खेलकुद र खेलाडीको अविभावक संस्था युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्नुको सट्टा उल्टै खेलाडीलाई अप्ठ्यारोमा पारेको खेलाडीहरूको गुनासो छ ।