‘अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौं, कांग्रेस-एमालेलाई निर्वाचनबाटै सजाय दिन्छौं’

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौं, कांग्रेस-एमालेलाई निर्वाचनबाटै सजाय दिन्छौं’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि बताउनुभयो । शनिबार काठमाडौंमा आयोजित खबरदारी सभामा बोल्दै उहाँले सडकबाट सरकार फेर्ने भन्ने कांग्रेस-एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताउनु भयो ।

ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाई थियो । उहाँले कांग्रेस-एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताउनु भयो ।

सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खबरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सैह्य नहुने बताउनु भयो ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाई थियो । अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफ्नो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.