गठबन्धन गरेर गल्ति गरेका रहेछौं, अब प्रधानमन्त्री बनाइदिनुस् भन्दै आउँदैन : अध्यक्ष दाहाल

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गठबन्धन गरेर गल्ति गरेका रहेछौं, अब प्रधानमन्त्री बनाइदिनुस् भन्दै आउँदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु सरकार ढाल्ने खेलमा नलाग्ने बताउनु भएको छ ।

माओवादी केन्द्रले आज राजधानीमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार ढल्ने डरले अझै बढी बेथितितिर नजान सत्ता गठबन्धन दललाई सचेत गराउनुभयो ।

माओवादीले आन्दोलनको घोषणा गर्नेबित्तिकै सत्ता गठबन्धन दलहरुले सडकबाट सत्ता परिवर्तन गर्न खोजिएको भनेर होहल्ला गरेको टिप्पणी गर्दै उहाँले खबरदारी सभा सरकार ढाल्नका लागि नभई गणतन्त्रको रक्षाका लागि भएको स्पष्ट पार्नुभयो ।

उहाँले विगतमा कांग्रेस, एमालेसँग सहकार्य गल्ती गरेको भनेर आफूहरुले गम्भीर आत्मसमीक्षा गरेको उल्लेख गर्दै अब समीकरण गरौं, प्रधानमन्त्री-मन्त्री बनाइदिनुस् भनेर नआउने बताउनुभयो ।

एमाले र कांग्रेसको प्रवृत्ति आफुहरुलाई सरेको भन्दै उहाँले भन्नुभयो- हामीमा पनि सर्‍यो माओवादीलाई चिन्ता के लागेको छ भने तपाईँहरु जस्तो दलाल र भ्रष्टाचारीको प्रतिनिधिको रुपमा हुनुहुन्छ, हामीले तपाईँहरुसँग गठबन्धन गरेर हामीले गल्ती गर्‍यौं, तपाईँहरुसँग समिकरण गर्नु गल्ति थियो, तपाईँहरुको प्रवृत्ति हामीमा पनि सर्‍यो । प्रतिक्रियावादी सँग हिँड्दा हामी पनि बिग्रिन थालेका थियौं । यसबारेमा हामीले गम्भीर आत्मसमिक्षा गरेका छौं ।

उहाँले संविधान संशोधन कांग्रेस-एमालेको बहाना भएको तर, मुख्य उद्धेश्य भ्रष्टाचारीलाई बचाउनु रहेको बताउनुभयो । उहाँले अब २०८४ को चुनाव एक्लै लड्ने पनि उल्लेख गर्नुभयो ।

खबरदारी सभामा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले कानुनी शासनको धज्जी उडाएको बताउनुभयो । भ्रष्टाचारविरुद्धको कारबाही कानुनसम्मत रुपमा अघि बढोस् र अनुसन्धान निष्पक्ष होस् भन्ने दबाब दिन खबरदारी सभा गरिएको उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.