राष्ट्र संघको भूमिका ‘पर्यवेक्षकमै सीमित’

कार्तिक ८, २०८१ |सुबिन्द्र श्रेष्ठ
राष्ट्र संघको भूमिका ‘पर्यवेक्षकमै सीमित’

काठमाडौं । आज अक्टोबर २४ अर्थात् संयुक्त राष्ट्रसंघ स्थापना दिवस । दोस्रो विश्वयुद्धपछि साना-ठूला सबै देशको समान हैसियत र सहअस्तित्वको सिद्धान्तमा आधारित रहेर संयुक्त राष्ट्रसंघको स्थापना गरिएको थियो । राष्ट्र संघलाई अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी छ । तर पछिल्लो समय रुस-युक्रेन र इजरायल-प्यालेस्टाइनबीच चर्किएको युद्ध साम्य पार्न राष्ट्रसंघले सकेको छैन । शक्ति राष्ट्रबाट कमजोर राष्ट्रलाई सुरक्षित गराउने उद्देश्यले स्थापित संयुक्त राष्ट्र संघको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ ।

रुसले २०७८ माघमा युक्रेनी भूमिमै पसेर सुरु गरेको आक्रमण ३ वर्षसम्म जारी छ । अर्कोतिर, २०८० असोजमा इजरायलमा पसेर हमास लडाकुले आक्रमण गरेपछि सुरु भएको युद्ध विस्तार भइरहेको छ । इजरायलले प्यालेस्टाइनका साथै लेबनानमा समेत आक्रमण गरिरहेको छ । यी दुवै क्षेत्रमा भइरहेको युद्धमा नेपाल जस्तो असंलग्न परराष्ट्र नीति बोकेको देशका नागरिकसमेत प्रत्यक्ष प्रभावित छन् । तर राष्ट्र संघले युद्ध रोक्न सकेको छैन ।

विश्व शान्तिका लागि नेपालले आफ्नोतर्फबाट भूमिका निर्वाह गरिरहेको छ । शान्ति मिसनमा आफ्ना सुरक्षाकर्मी खटाएर नेपालले पुर्‍याइरहेको योगदानको अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसा भइरहेको छ । संयुक्त राष्ट्र संघले समेत नेपालको योगदानको प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको देशका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सहायता, शान्ति स्थापना र विकासका लागि संयुक्त राष्ट्रसंघको योगदानले लाखौँ मानिसहरूको जीवन परिवर्तन गराएको बताउनुभएको छ ।

दुई दशकयता अमेरिकाको आडमा भएको इराक युद्ध होस् वा रुसको शक्ति प्रदर्शनमा भएको युक्रेन युद्ध अथवा इजरायलको विद्रोही निस्तेज गर्ने चाहनामा भएको प्यालेस्टाइन युद्ध नै किन नहोस्, राष्ट्रसंघको पछिल्लो भूमिका भने पर्यवेक्षकभन्दा फरक देखिएको छैन । मानवतामाथि सामरिक स्वार्थ हाबी हुँदा विश्व लगातार ध्रुवीकृत छ । तर विश्वको छाता संगठनका रूपमा स्थापित संयुक्त राष्ट्रसंघ आफैँ निरीह जस्तै देखिएको छ । 

मानवीय मूल्यलाई सर्वोपरि राख्ने गरी सामूहिक प्रतिबद्धता कार्यान्वयन गराउनुपर्ने राष्ट्रसंघको सक्रियता नै कमजोर देखिएको छ । अझ पछिल्लो समय लेबनान र इजरालयको सीमाको सुरक्षामा निलो घेरामा खटिएका शान्ति सेनासमेत हटाउने चर्चाले संयुक्त राष्ट्रसंघको भूमिकामा थप प्रश्न उठ्न लागेको हो । 

इजरायल - प्यालेस्टाइन तथा रुस-युक्रेन दुवै युद्धमा ठूलो मानवीय क्षति भएको छ । यस्तोमा राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव न रुसले मानेको छ न त इजरायलले नै वास्ता गरेको छ । दोस्रो विश्वयुद्धको धङ्धङीका बीच फेरि त्यस्तो युद्ध नहोस् भनेर स्थापना गरिएको संयुक्त राष्ट्रसंघ वर्तमान विश्वमा चलेको युद्ध रोक्न त असक्षम देखिएको छ नै । 

त्यससँगै अहिले विश्वसामु देखिएका नयाँ चुनौती जलवायु परिवर्तन र त्यसले निम्त्याएका अतिवृष्टि अनावृष्टि रोक्न तथा हिमालयहरू पग्लने क्रम रोक्न मुख्य भूमिका खेल्ने राष्ट्रहरूलाई जिम्मेवार बनाउन पनि सक्रिय भूमिका खेल्न सकेको छैन । 

राष्ट्रसंघका महासचिवले युद्ध अन्त्य गर्न र जलवायु परिवर्तनको प्रभाव कम गर्न शक्तिराष्ट्रलाई पटक पटक आग्रह गर्नुका साथै नेपालमा आएर समेत हिमाली क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाउन विश्वको ध्यान तान्ने प्रयास गर्नु सराहनीय छ । तर शक्ति राष्ट्रहरूको बलमिचाइँ विरुद्ध राष्ट्रसंघलाई थप सक्रिय बनाउन अझै धेरै काम गर्न आवश्यक छ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।