गण्डकीमा दीपक मनाङेले छाडेको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीमा दीपक मनाङेले छाडेको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका भेषबहादुर पौडेललाई वन मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले आफूलाई भौतिकबाट वन मन्त्रालय सारेपछि मन्त्री पदबाटै राजीनामा दिनुभएको थियो । मनाङेले छोडेको सोही मन्त्रालयमा मुख्यमन्त्री पाण्डेले पौडेललाई नियुक्त गर्नुभएको हो । 

पौडेलको नियुक्तिसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता मानिनुहुन्छ । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उहाँलाई थापाकै जोडमा मन्त्री बनाइएको हो । 

गण्डकीमा हाल ९ मन्त्रालय छ । मुख्यमन्त्रीसहित कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् । कांग्रेस एमालेको नयाँ समीकरणपछि गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेलाई ४ मन्त्रालय पर्नेगरी भागबन्डा मिलाइएको थियो । कांग्रेसले आफ्नै कोटाबाट एकीकृत समाजवादीका फणिन्द्र देवकोटालाई मन्त्री बनाएको हो । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा भागवण्डा मिलाउनकै लागि मन्त्रालय फुटाएर ९ वटा पुर्‍याइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.