बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम हुँदै

तिहारअघि नै सञ्चालनमा ल्याउने लक्ष्य
कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम हुँदै

इलाम । इलामको माइखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु प्राधिकरणले उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । 

यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।

गत असोज १२ गते शनिबार माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजनाहरुको करिब २०० मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजबाट उक्त आयोजनाहरुबाट विद्युत् उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले दैनिक रुपमा आम्दानी गुमाइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.