कञ्चनपुरमा बाढीले भत्काएका भौतिक संरचनाको पुनर्निर्माण अझै हुन सकेन

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
 कञ्चनपुरमा बाढीले भत्काएका भौतिक संरचनाको पुनर्निर्माण अझै हुन सकेन

कञ्चनपुर । गत असार तेस्रो साता कञ्चनपुरमा भारी वर्षापछि आएको बाढीले भत्काएका भौतिक संरचनाको पुनर्निर्माण अझै हुन सकेको छैन । सरोकारवाला निकायले तदारूकता नदेखाउँदा सिँचाइ नहर सडकलगायतका बाढीले भत्काएका संरचना अझै बन्ने सुरसार नदेखिएको हो ।

बेलडाँडी स्थित महाकाली सिँचाइ आयोजनाको नहर चौधर नदीको बाढीले भत्काउँदा हजारौँ किसान सिँचाइ सुविधाबाट बञ्चित छन् भने नहर छेउको बाटोमा ओहोरदोहोर समेत ठप्प छ । चौधर नदीले धार परिवर्तन गरी गाउँ पस्दा विद्यालय आवतजावतमा समेत कठिनाइ हुने गरेको छ । नहरको पुनर्निर्माणका लागि २९ करोड बराबरको क्षति मूल्याङ्कन गरी सम्बन्धित निकायबाट गृह र अर्थ मन्त्रालयमा बजेट निकासाका लागि फाइल पठाइएको र त्यसपछि ठेक्का आह्वान गरिने कञ्चनपुर प्रशासनले जनाएको छ ।

असारको २३ र २४ गतेको भारी वर्षाले पूर्वपश्चिम राजमार्गको सुडामा भत्काएको कल्भर्टको पुनर्निर्माण पनि हालसम्म भएको छैन । त्यहाँ अबको ३ महिनाभित्र मोटरेबल पुल नै निर्माण गर्ने ५ करोडको योजना बनेको कञ्चनपुर प्रशासनको दाबी छ ।

गत असारमा कञ्चनपुरमा भएको वर्षा नेपालमा वर्षा मापन सुरु भएको ७८ वर्षयताकै सर्वाधिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त विपद्‍मा कञ्चनपुरमा ५ जनाको मृत्यु भएको थियो भने नगद, मालसामान, भौतिक तथा कृषि र पशुको क्षति एक अर्ब ५६ करोड बराबरको मूल्याङ्कन गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.