सत्य निरुपण आयोगका लागि सिफारिस समिति बनाउने विषयमा तीन दलको सहमति

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्य निरुपण आयोगका लागि सिफारिस समिति बनाउने विषयमा तीन दलको सहमति

काठमाडौं । सत्य निरुपण आयोगका लागि सरकारले सिफारिस समिति बनाउने विषयमा शीर्ष तीन राजनीतिक दलहरु सहमत भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठकले सहमति गरेको हो ।

बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताउनु भयो ।

छलफल शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित रहेको बताउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्ने बारेमा शीर्ष तीन दलका नेताहरु सहमत भएको जानकारी दिनुभयो ।

उहाँले एक/दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुनेसमेत बताउनु भयो ।

उहाँले भन्नुभयो, 'शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो र त्यसले पूर्णता प्राप्त गर्न बाँकी थियो । अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा नै छलफल भयो ।'

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सक्ने आयोग गठन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी हुनुहुन्थ्यो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.