दक्षिण अफ्रिका महिला टि-२० विश्वकपको फाइनलमा प्रवेश

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण अफ्रिका महिला टि-२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । दक्षिण अफ्रिका, साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले स्तब्ध पार्दै महिला टि ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिका लगातार दोस्रो पटक उपाधी नजिक पुगेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोज्यो । अस्ट्रेलियाले २० ओभरमा पांच विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पावर प्लेमा दुई विकेट लिंदै उत्कृष्ट सुरुवात गर्यो । ओपनर ग्रेस ह्यारिस ३ र जर्जिया वेरहाम ५ रनमा पभेलियन फर्किए । कप्तान ताहिला मेक्ग्रेथ २७ रनमा मैदान बाहिरिन् ।

ओपनर बर्थ मुनी ४४ रनमा मरिजन क्यापको हात बाट रन आउटको शिकार भएकी थिइन् । एल्सी पेरीले ३१ रन जोड्दा फेबी लिचफिल्ड १६ रनमा अविजीत रहिन् । आयाबोङगा खाकाले दुई विकेट लिइन् । जवाफमा दक्षिण अफ्रिकाले १७ दशमलव दुई ओभरमा दुई विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । ताज्निम ब्रिट्स पहिलो विकेटका रुपमा १५ रनमा आउट भएकी थिइन् । तर कप्तान लौरा ओल्फार्ट र एनिका बसले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले सहज जित हात पारेको हो । लौराले ४२ रनको योगदान दिइन् । बोस ४८ बलमा ७४ रन बनाउँदै अविजीत रहिन् । अन्नाबेल सथरल्यान्डले दुई विकेट लिइन् ।

टि ट्वेन्टी महिला विश्वकपमा बोस अस्ट्रेलिया विरुद्ध उच्च रन बनाउने केवल तेस्रो खेलाडी हुन् । दक्षिण अफ्रिकाले टि ट्वेन्टी विश्वकपमा अस्ट्रेलियालाइ पराजित गरेको यो पहिलो पटक हो । यसअघिका सात भेटमा अस्ट्रेलिया विजयी भएको थियो । अघिल्लो संस्करणमा दक्षिण अफ्रिकालाई नै हराएर अस्ट्रेलिया च्याम्पियन भएको थियो ।

सर्वाधिक ६ पटकको विजेता अस्ट्रेलिया पहिलो पटक फाइनल पुग्न असफल भएको हो । दक्षिण अफ्रिका भने महिला र पुरुष दुवै तर्फ पहिलो विश्वकप उपाधीको खोजीमा छ । दोस्रो सेमीफाइनलमा आज न्युजील्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.