राप्रपामा शक्ति संघर्ष : अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच चुलिँदो विवाद

आश्विन २७, २०८१ |प्रकाश बम
राप्रपामा शक्ति संघर्ष : अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच चुलिँदो विवाद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक कलह चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीचको शक्ति संघर्ष चुलिँदै जाँदा विवाद सार्वजनिक भएको हो । महामन्त्री राणाले संगठन विभागमार्फत् शक्ति सञ्चय गर्ने र लिङ्देनले इतर पक्षलाई कमजोर बनाउँदै आफ्नो पकड कायम राख्ने सिलसिला चलिरहेको छ । 

यही सिलसिलामा अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई संगठन विभागको जिम्मेवारीबाट हटाउनु भएको छ । अध्यक्ष लिङ्देनले पछिल्लो समय गरेको जिम्मेवारी हेरफेरको विवादले असन्तुष्टि झनै चुलिएको छ । र, आफूलाई असहयोग गर्ने अनि फरक कित्तामा रहेका पदाधिकारीसहितका अन्य नेताहरुको जिम्मेवारी समेत हेरफेर गर्ने तयारीमा अध्यक्ष लिङ्देन देखिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसिरमा भएको महाधिवेशनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभयो । पुस्तान्तरणको नारासहित महामन्त्री धवलशमशेर राणाले लिङ्देनलाई सहयोग गर्नुभएको थियो । जसलाई तत्कालीन अध्यक्ष प्रकाशचन्द्र लोहनीको शमर्थन थियो । 

तर, पछिल्लो समय लिङ्देन र राणाबीच नै दूरी बढेको छ । आगामी महाधिवेशनमा अध्यक्षमा उठ्ने तयारी गरिरहनु भएका राणाले संगठन विभागमार्फत् पकड जमाउँदै जानु भएको थियो । यही बेला लिङ्देनले महामन्त्री राणाको जिम्मेवारी खोसिदिनुलाई विवादको उत्कर्षका रुपमा राप्रपाभित्रै चर्चा चलिरहेको छ । 

बिरामी भएर उपचार गर्न भारत गएका बेला सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी लिङ्देनले जिम्मेवारीबाट हटाएको भन्दै राणापक्षका नेताहरु आक्रोशित छन् । राणा पक्षका नेता एवं पार्टीका प्रवक्ता सगुनसुन्दर लावती भन्नुहुन्छ, 'सरसल्लाह नगरी मानवीय संवेदनाको ख्याल नराखेर विधानविपरीत जिम्मेवारी मुक्त गरियो ।'

राणालाई आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रूपमा हेरिएका कारण इतर पक्षलाई कमजोर बनाउने रणनीतिअनुसार नै लिङ्देनले पछिल्लो कदम चालेको बुझाइ राणा समूहको छ । 

महामन्त्री राणालाई साथ दिँदै आएका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले समेत सामाजिक सञ्जालमार्फत् अध्यक्षको निर्णय अस्वीकार गर्ने घोषणा गर्नुभएको छ । हाल अमेरिकामा रहनुभएका लोहनीले राणालाई संगठन विभागको जिम्मेवारीबाट मुक्त गर्नु अविवेकी तथा अमानवीय निर्णय भएको तथा बिरामीलाई तनाव दिने काम भएको भन्दै आपत्ति जनाउनुभएको छ । 

आउँदो छठ पर्वपछि राप्रपाले बृहत आन्दोलनको तयारी गरिरहेको थियो, जसको संयोजक राणा हुनुहुन्थ्यो । आन्दोलनलाई कमजोर पार्नका लागि पनि अध्यक्षले महामन्त्रीलाई जिम्मेवारी मुक्त गरेको बुझाइ कतिपय नेताको छ ।

तर, संस्थापन पक्षले भने सभापतिको निर्णयलाई गलत मानेको छैन । विधानमा भएको व्यवस्था अनुरुप नेताहरुको जिम्मेवारी हेरफेर भएको लिङ्देन पक्षका नेता एवं पार्टीका अर्का प्रवक्ता मोहन श्रेष्ठको दाबी छ ।

राप्रपाको नियमित महाधिवेशन तालिका २०८२ मंसिर हो । त्यसका लागि राप्रपाले तल्लो तहको अधिवेशनको प्रक्रियासमेत सुरु गरिसकेको छ । जसअनुसार एक पक्षले अर्को पक्षलाई रोक्ने रणनीतिका साथ गतिविधि भइरहेका छन् । 

अघिल्लो महाधिवेशनमा लिङ्देनलाई अध्यक्ष बनाउन राणाले नै बलियो साथ दिनुभएको थियो । तर, समयक्रमसँगै दुवैबीचको सम्बन्ध चिसिएको छ भने राणाले लिङ्देनको कार्यशैलीप्रति प्रश्न उठाउँदै अध्यक्षमा दाबी गर्ने तयारी गरिरहनु भएको छ । त्यसलाई रोक्न लिङ्देनले पनि रणनैतिक चाल चाल्दै आउनु भएको छ । 

राणालाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीलगायतका नेताको साथ छ भने लिङ्देनको पक्षमा उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान लगायतका नेता छन् । पूर्वअध्यक्ष पशुपति शमशेर राणा कुन पक्षमा भनेर स्पष्ट नखुले पनि महामन्त्री राणा पक्षका नेताहरु भने आफ्नै पक्षमा रहेको दाबी गरिरहेका छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।