गिरीबन्धु टी-स्टेटमा ओलीको बद्‍मासी पर्दाफास गरेरै छोड्छु : अध्यक्ष दाहाल

पुस १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गिरीबन्धु टी-स्टेटमा ओलीको बद्‍मासी पर्दाफास गरेरै छोड्छु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाउनुभएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ को गौरीगञ्ज गाउँपालिका -३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ओलीमाथि आफूले गिरीबन्धु टी-स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न सुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणम बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताउनु भयो ।

उहाँले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताउनु भयो । अध्यक्ष दाहालले गिरीबन्धु टी-स्टेटमा प्रधानमन्त्री ओलीले बद्‍मासी गर्नुभएको आरोप लगाउँदै त्यसको पर्दाफास गरेरै छोड्ने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको दिमागमा जालझेल बाहेक अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरीबन्धु टी-स्टेटमा उहाँले गरेको बद्‍मासीलाई पर्दाफास गरेरै छोड्नेछु ।'

अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिबद्धतासमेत जनाउनु भयो । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement