सातै प्रदेशमा मिर्गौला प्रत्यारोपणको लक्ष्य अलपत्र

बर्सेनि ३ हजारको मिर्गौला बिग्रँदा ३ सय जनाको मात्र प्रत्यारोपण
पुस १५, २०८१ |कृपाल गौतम
सातै प्रदेशमा मिर्गौला प्रत्यारोपणको लक्ष्य अलपत्र

काठमाडौं । नेपालमा बर्सेनि ३ हजार जनाको मिर्गौला बिग्रने गरेको छ । तर वार्षिक ३ सय जनाको मात्र प्रत्यारोपण हुन्छ । सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने भन्दै आएको छ । तर यसअघि प्रत्यारोपण सेवा सुरु गरेकै अस्पतालमा पनि निरन्तरता दिन सकेको छैन । 

२०७९ माघ २१ गते काठमाडौंबाटै विरामीसहित विशेषज्ञ चिकित्सकको टोली गएर पहिलो पटक प्रदेश अस्पताल कर्णालीमा मिर्गौला प्रत्यारोपण गरियो । योसँगै कर्णालीमा पनि मिर्गौला प्रत्यारोपण सुरु भएको प्रचार गरियो । तर दुई वर्षको बीचमा यहाँ जम्मा ४ जनाको मात्र मिर्गौला प्रत्यारोण गरिएको छ । दक्ष जनशक्ति नहुँदा प्रदेश अस्पताल कर्णालीले सेवा दिन सकेको छैन । ‘नयाँ सेवा प्रारम्भको निरन्तरताको कुरा हो । त्यसको लागि एक्सपर्टहरु डेभलप गर्नुपर्छ । हामीसँग किड्नी ट्रन्सप्लान्ट वा अरू अंग प्रत्यारोपणका लागि मेनपावर छैन,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. केदार ढकालले भन्नुभयो ।

कर्णालीमा मात्र होइन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि २ वर्ष अघि मिर्गौला प्रत्यारोपण सुरु गरिएको थियो । तर यहाँ पनि २ वर्षको अवधिमा १२ जनाको मात्र प्रत्यारोपण भएको छ । ‘पोहोर साल हाम्रो ८ वटा भएको थियो भने साउन यता हाम्रो ५ वटा भएको छ । केसहरू छैन भनम गर्न मिल्ने केसहरू भयो भने अहिले गर्न मिल्छ,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले भन्नुभयो ।

कर्णाली र पोखरामा मिर्गौला प्रत्यारोपण सुरु भएको २ वर्ष बितिसक्दा पनि सेवा प्रभावकारी हुन नसकिरहेका बेला स्वास्थ्यमन्त्रीसहितको टोलीले गत हप्ता भेरी अस्पतालमा पुगेर मिर्गौला प्रत्यारोपण गर्ने भनेर बिनातयारी सम्झौता भएको छ । तर यो अस्पतालमा पनि प्रत्यारोपणका लागि दक्ष जनशक्ति छ न त पूर्वाधार नै । ‘केहि दिनमा अब हामिले ट्रन्सप्लान्टलाई भेरीमा सञ्चालनमा ल्याउँदै छौं र यसका लागी अहिले हामिलाई चाहिने भनेको ट्रन्सप्लान्ट फिजिसियन, सर्जन र नर्सहरु अब हामीलाई चाहिने हुन्छ,’ भेरी अस्पतालका मिर्गौला विशेषज्ञ डा. पारस श्रेष्ठले भन्नुभयो ।

नेपालमा बर्सेनि ३ हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको अनुमान छ । तर प्रत्यारोपणको दर निकै कम छ । वार्षिक ३ सय हाराहारीको प्रत्यारोपण हुने गरेको छ । अर्थात् जम्मा बिरामीमध्ये १० प्रतिशतको मात्र प्रत्यारोपण हुन्छ । मिर्गौला बिग्रिएकामध्ये अहिले देशैभर ८ हजार बिरामीले डायलाइसिस गराइरहेका छन् । 

सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने भन्ने घोषणा गरिरहँदा सुरु भइसकेका सेवा भने नियमित हुन सकेका छैनन् । लोकप्रियताका नाममा विभिन्न स्थानमा गएर प्रत्यारोपण सेवा सुरु भएको घोषणा गर्नुअघि पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गर्नुपर्ने जानकार बताउँछन् । ‘भोलि प्रत्यारोपण गर्नु छ भने मैले त्यो बिरामीलाई लिएर हुम्लाको सिमिकोटमा गएर प्रत्यारोपण गराए भने हुमलामा प्रत्यारोपण सुरु भयो भनेर भन्न मिल्दैन । अहिले हाम्रोमा जहाँ पनि जाने उद्घाटन, एमओयू गर्दिने चलन छ । सबै तिर हुनु राम्रो हो तर त्यहाँको मेनपावर तयार गर्नुपर्यो नि,’ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक डा. प्रेमराज ज्ञवालीले भन्नुभयो ।

यता स्वास्थ्य मन्त्रालय भने मिर्गौला प्रत्यारोपण सेवा कहाँ-कहाँ निरन्तर छ भन्ने मै स्पष्ट छैन । बरु प्रत्यारोपण सुरु गरेका अस्पतालले जानकारी नदिँदा सेवाले निरन्तरता नपाएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयो ।

सरकारले प्रत्यारोपण सेवा विस्तार गर्ने भनेर लामो समयदेखि बताउँदै आएको छ । तर सुरु भएका अस्पतालको सेवालाई निरन्तरता दिन सकेको छैन । यस्तो बेलामा सेवा विस्तारको तयारीसँगै निरन्तरताका लागि जनशक्ति र पूर्वाधारको अवस्था पनि अध्ययन गर्न आवश्यक छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement