काठमाडौं । सरकारको कामलाई एजेण्डा, कार्यक्रम र नीतिमा भन्दा गठबन्धन, सत्तापक्ष-प्रतिपक्ष र गुटका आधारमा समर्थन विरोध गर्ने नेतृत्वको शैली अहिलेको सरकारमा पनि प्रष्टसँग देखिएको छ । अघिल्लो सरकारमा रहँदा समर्थन गरेका र आफैले ल्याएका कतिपय एजेण्डालाई नेपाली कांग्रेसले अहिले विरोध गरिरहेको छ । यसैगरी एमालेले प्रतिपक्षमा रहँदा विरोध गरेका एजेण्डामा अहिले कि मौन बस्ने वा समर्थन गर्ने गरिरहेको छ । सरकारलाई गुण दोषका आधारमा भन्दा गुटगत आधारमा समर्थन र विरोध गर्दा सरकारले गरेको कार्यसम्पादनका विषयमा नेपाली कांग्रेसबाट भिन्न धारणा आइरहेका छन् ।
सत्ताघटक नेपाली कांग्रेसभित्र सरकारलाई लिएर ठुलो मतभेद छ । संस्थापन इतर पक्षले सोचेअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरिरहेको छ । ‘जति काम भएको त्यसमा स्प्रीट थप्नु पर्छ । हामिले खवरदारी गर्नुपर्छ गरिरहेका छौ । सरकारले काम गर्नु नसकेकाले दल र सरकार प्रति निराशा बढ्दो छ। त्यसलाई सत्तामा बसेकाले बुझेर काम गर्नुपर्छ,’ नेपाली कांग्रेस सांसद सरिता प्रसाईंले भन्नुभयो ।
संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको यो सरकार सञ्चालनको छ महिना पुग्नलाग्दा नागरिकबाट आशातित पास मार्क पाउन सकिरहेको छैन । सत्तारुढ घटक सबै राम्रो भएको बताउँछ भने विपक्षी सबै कुरा बिग्रिएको तर्क गर्छ । तर तथ्यांकहरुले भने नागरिकमा आशा जगाउन सकेको छैन् । स्वयं सरकारका मन्त्रीहरु पनि देखिने गरि काम गर्न नसकेको स्विकारीरहेका छन् । विपक्षी दल र नेपाली कांग्रेसकै संस्थापन इतर पक्ष मात्रै नभएर देउवा पक्षकै कतिपय नेताहरु पनि सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै आलोचना गर्न थालिसेकेका छन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने हरेक सार्वजनिक कार्यक्रममा वर्तमान सरकारले एकदम राम्रो काम गरिरहेको बताउनुहुन्छ । तर पछिल्लो समय संस्थापन भित्रैका कतिपय नेताहरु पनि सरकारको काम कारवाहीमाथि प्रश्न उठाउन थालेका छन् । सरकारलाई हेर्ने दृष्टिकोणमा पार्टीभित्र मतभेद सृजना गर्नुभन्दा नागरिकका अपेक्षा सम्बोधन हुने गरी काम गर्न सचेत गराउनुपर्ने दायित्व नेपाली कांग्रेसको हो । तर बारम्बार सरकारको बचाउ गर्नुहुने सभापति देउवा यो दायित्वमा मौन हुनुहुन्छ । ‘सरकारले काम गरिरहेको छ । गर्न नसकेका विषय बाहिर बोल्दै हिड्ने होइन । फोरममा बोल्ने हो,’ नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले भन्नुभयो ।
अर्कोतर्फ इतर पक्षको बोलिमा पनि एकरुपता देखिदैन । हिजोसम्म सरकारले काम गर्न सकेन भनेर आलोचना गरिरहनुभएका नेता शेखर कोइराला एकाएक सरकारले राम्रो काम गरेको देख्न थाल्नु भएको छ । शनिबार महोत्तरीमा दुई दल मिलेर सरकार बनाए पनि कुनै काम गर्न नसकेको बताउनुभएका कोइरालाले आइतबार जनकपुर पुगेर वर्तमान सरकार चलायन भएको तर्क गर्नुभएको छ ।
राजनीतिक विश्लेषक लोकराज बरालको तर्क छ- शेखर कोइरालाको सरकार प्रतिको विरोध र समर्थन पार्टी र सरकारमा भागवण्डाको परिणाम हो भने सभापति देउवाले वर्तमान सरकारको आँखा चिम्लेर समर्थन गर्नुको कारण गठबन्धन टुट्न सक्ने डर हो । कांग्रेस एमालेको सहमतिलाई आधार मान्ने हो भने ओलीपछि देउवा प्रधानमन्त्री बन्नु हुनेछ र अहिलेको सरकारलाई सहयोग गरि रहे आफ्नो पालामा पनि सहयोग पाइनेछ ।
नेपाली कांग्रेस र एमाले एक अर्काका तिब्र प्रतिस्पर्धी दल हुन । अहिले सँगै भएपनि भोलि निर्वाचनमा यिनै दुई दलबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यसकारण अहिले सरकारमा सँगै रहे पनि कांग्रेसले एमाले नेतृत्व र आफ्नै मन्त्रीको कार्यक्षमतामा गुण र दोषका आधारमा समर्थन र आलोचना गर्नुपर्छ । अहिलेको सरकारले गलत गरेको जिम्मेबारी कांग्रेसले पनि लिनुपर्ने भएकाले भोलिको सत्ता, गठबन्धन वा गुट उपगुट हेरेरभन्दा नागरिकलाई दिइरहेको डेलिभरिका आधारमा गुण र दोष खुट्याएर समर्थन र विरोध गर्नुपर्छ ।