काठमाडौं । संसद्मा प्रयोग भएको 'हिंसा' शब्दका विषयमा विवाद भएपछि आजको प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र द्वन्द्वलाई लक्षित गर्दै हिंसा’ शब्द प्रयोग गर्नु भएको थियो । उक्त शब्द असंसदीय भएको भन्दै अभिलेखबाट हटाउन माओवादीले माग गरेपछि छानबिनका लागि सभामुख देवराज घिमिरले संसद् सचिवालयाई निर्देशन दिनु भएको थियो । उक्त शब्द असंसदीय नभएको निष्कर्ष निकालिएकाले हटाउन नपर्ने रुलिङ सभामुख घिमिरेले गरेपछि एमाले तथा माओवादी सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
माओवादीले सभामुखको उक्त रुलिङ संविधान र कानुनविपरीत भएको र शान्ति प्रक्रियालाई नै बिथोल्ने खालको भएको भन्दै विरोध जनाएका थिए । तर, एमालेका सांसदहरु भने सभामुखको रुलिङको प्रतिरक्षमा उत्रिएका थिए। उनीहरुले विगतमा पनि पटक-पटक हिंसा शब्द प्रयोगमा आएको उल्लेख गर्दै सभामुखले कानुनसम्मत रुलिङ गरेकाले त्यसलाई मान्नुपर्ने बताएका थिए । उनीहरुले हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पनि हिंसा शब्द उल्लेख गरेको बताएका थिए ।
शब्दको विवाद नटुंगिएपछि सभामुख घिमिरेले भदौ ३० गते बस्नेगरी बैठक स्थगित गरेको घोषणा गर्नुभएको हो । आजको बैठकको शून्य तथा विशेष समयमा सत्तापक्षका सांसदहरुले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेका छन् । उनीहरुले उपसभामुख रानामगरमाथि पदीय दुरुपयोगको आरोप लागेकाले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे ।
विपक्षी दलका सांसदहरुले भने उपसभामुखले १९ महिनाअघि गरेको गल्तीलाई अहिले राजनीतिमा बार्गेनिङ प्वाइन्टको रुपमा प्रयोग गरिरहेको आरोप लगाए । बैठकमाा सांसदहरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको वार्षिक पुण्यतिथिका अवसरमा स्वर्गीय नेम्वाङको योगदानलाई सम्झिएका थिए ।
उनीहरुले स्वर्गीय नेम्वाङले संविधान निर्माणमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उहाँले सिंगो संसद्लाई सिर्जनात्मक र रचनात्मक ढंगबाट अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका थिए।