काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पुन: अनसन बस्नुभएको छ । निषेधित क्षेत्रको अवज्ञा गर्दै आमरण अनसनमा बसेको भन्दै प्रहरीले उहाँलाई हिजो साँझ धरपकड गर्दै उठाएर लगेको थियो र निवासमा लगेर छाडिदिएको थियो ।
घरमा प्रहरीले छाडे लगत्तै उहाँले स्थान परिवर्तन गरेर देवकोटा चोक अगाडी अनसनमा बस्नु भएको हो ।
आफ्नो कार्यकालमा सुरू कार्यक्रम निरन्तरताको माग राख्दै उहाँ हिजो अपरान्हदेखि आमरण अनशनमा बस्नुभएको थियो ।
सरकारले निषेधित क्षेत्र घोषणा गरेको कोशी प्रदेशसभा भवनअगाडि रहेको बनसखण्डी मन्दिरको गेट छेउमा उहाँ अनसनमा बस्नु भएको थियो । उहाँसँगै अनसनमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई पनि प्रहरीले भ्यानमा हालेर लगेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले कार्की अनशन बस्ने घोषणा गरेसँगै प्रदेशसभा भवन क्षेत्रलाई हिजो निषेधित क्षेत्र घोषणा गरेको थियो । तर त्यसको अवज्ञा गर्दै उहाँ निषेधित क्षेत्रमै अनसन बस्नुभएको थियो ।