काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने विषयमा छलफलमा जुटेपछि मधेश केन्द्रित दलहरु मोर्चाबन्दी गरेर जाने विषयमा औपचारिक संवादमा जुटेका छन् ।
कांग्रेस र एमालेले संविधान र कानुन संशोधन गर्दै निर्वाचन प्रणाली नै परिवर्तन गरे आफूहरु अप्ठ्यारोमा पर्ने भएले मधेश केन्द्रित दलहरुले साझा मुद्दामा समान धारणा बनाउन मोर्चाबन्दी सुरु गरेका हुन् । उनीहरुले आज काठमाडौंमा पहिलो औपचारिक बैठक गर्दै मुद्दा मिल्ने विषयमा समान धारणा बनाउने बताएका छन् ।
विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि र सिमान्तकृत वर्गको अधिकार रक्षाका लागि एकजुट भएर छलफलमा जुटेको उनीहरुले बताए । ‘हिजोको दिनमा हामीहरुले सँगै सहकार्य गरेका हौं । बिभिन्न कालखण्डमा हामीहरु छुट्टीयौं । अहिले फेरी एक प्रकारको मोर्चा बनाउने बैठक बसिरहेका छौं,’ जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले भन्नुभयो ।
मधेशकेन्द्रित दलहरु आगामी दिनमा एकजुट भएर अघि बढ्ने तयारीमा छन् । सत्तारुढ दलहरु संविधान संशोधन गर्दै दुईदलीय व्यवस्थातर्फ जान खोजकाले समेत आफूहरु सजक हुनुपर्ने अवस्थामा आइपुगेको उनीहरुको भनाइ छ ।
पहिलो बैठकमा जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति क्रान्ति, जनता प्रगतिशील पार्टीलगायतका दलका प्रतिनिधि सहभागी थिए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका प्रतिनिधि भने आजको बैठकमा सहभागी भएनन् ।