काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबीच विवाद चुलिएको छ । आफ्नो सरकारले ल्याएका कार्यक्रमहरुलाई निरन्तरता नदिए अनशन बस्ने पूर्व मुख्यमन्त्री कार्कीले ४८ घण्टे अल्टिमेटम दिनु भएको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिनुभएको हो । आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आउनुभएको छ ।
पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशभरीका १० वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको थियो । हालका मुख्यमन्त्री कार्कीले स्रोतले नधान्ने भन्दै त्यो कार्यक्रम कटौती गर्नुभएको छ ।
बजेटमा २५ लाख रुपैयाँभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी-मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृति, डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम कटौती गरिएको पूर्व मुख्यमन्त्री कार्कीको आरोप छ ।
कोशीमा अहिले एमाले नेतृत्वमा सरकार छ । समर्थन प्रकट गरिसकेको सरकारमा केही दिनमै कांग्रेस सहभागी बन्दैछ ।