सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिए

एमाले र नागरिक उन्मुक्तिको समर्थन
श्रावण २०, २०८१ |टेकराज जोशी
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिए

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।

संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आज बेलुकी ५ बजे शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । दीर्घ बहादुर सोडारीले शुक्रवार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेसका लागी आह्वान गर्नुभएको थियो ।

एमालेका ११ र कांग्रेसका १८ गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा आज दिउँसो शाहले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो । गएको प्रदेशसभा निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकामा पर्ने क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ’क’ बाट उहाँ निर्वाचित हुनुभएको हो ।

प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह दोस्रो पटक मुख्यमन्त्री बन्नु भएको हो । यस अघि एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा २०७९ माघ २६ गते देखि २०८० चैत २२ सम्म उहाँ सुदूरपश्चिमको मुख्यमन्त्री बन्नु भएको थियो । झन्डै ४ महिना पछि मुख्यमन्त्रीमा उहाँको कमब्याक भएको हो । 

शाह नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराउने तयारी छ । एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डामा अझै कुरा मिलेको छैन । भागबन्डा नमिलेकै कारण आज शपथ ग्रहण हुन सकेन । भोलीसम्ममा सबै विषय मिलाएर शपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने मुख्यमन्त्री शाहको तयारी छ । दुई वर्षको अवधिमा सुदूरपश्चिमको यो चौथो सरकार हो ।

यसै विषयमा सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँग गरिएको कुराकानी यहाँ हेर्नुहोस् :-


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement