काठमाडौं । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
लामाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न संसद्मा राखेको प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाले राख्नुभएको विश्वसको मतसम्बन्धि प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत खसेको थियो । बागमती प्रदेश सभामा रहेका ७ दलमध्ये नेपाली कांग्रेस र एमाले दुई दलले मात्रै लामालाई विश्वासको मत दिएका थिए । नेमकिपाका ३ सदस्य भने तथस्ट रहेका थिए । एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १०३ सदस्य मात्रै उपस्थित थिए ।