कैलाली । प्रदेश मातहतका अस्पताललाई संघ सरकारमा हस्तान्तरण गरेर कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारले नयाँ प्रक्रिया अघि बढाएको छ ।
विभिन्न विवादका कारण लामो समयदेखि सञ्चालनमा आउन नसकेको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठनका लागि सेती प्रादेशीक अस्पतालसहित अन्य अस्पताल संघ सरकारलाई हस्तान्तरण गर्न प्रदेश सरकार तयार भएको हो ।
स्वास्थ्यमन्त्रीसँगको सल्लाहपछि प्रादेशिक अस्पतालहरू हस्तान्तरण गर्न तयार रहेको जानकारीसहितको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको हो ।
प्रस्तावित विश्वविद्यालयमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा छिट्टै सुरु होस् भनेर प्रदेश सरकार मातहतका अस्पताल संघलाई हस्तान्तरण गर्ने तयारी गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । २०८० असोज १९ मा संसद्मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो । कानुन बन्ने प्रक्रिया चलिरहेकै बेला प्रदेशका तर्फबाट आवश्यक पहल थालिएको मुख्यमन्त्री शाहले बताउनुभयो ।
चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तिमा ३ सय शय्याको अस्पताल चाहिन्छ । गेटा अस्पतालले हाल ५० शय्या सञ्चालनको मात्र अनुमति पाएको छ । प्रस्तावित विश्वविद्यालयमा पठनपाठन थालिहाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।