लुम्बिनीमा नयाँ सरकारको कसरत, मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

श्रावण ६, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनीमा नयाँ सरकारको कसरत, मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

दाङ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि लुम्बिनी प्रदेशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनको काम अगाडि बढाएका छन् ।

केन्द्रमा भएको सत्ता समीकरणको फेरबदलका कारण नेकपा एमालेको भागमा परेको लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेस-एमाले अघि बढेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्यको आवस्यकता पर्छ । प्रदेश प्रमुखबाट नयाँ सरकारका लागि आह्वान भएलगत्तै एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित भोलि (साउन ७ गते) एमाले संसदीय दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गर्ने तयारी छ । मुलुकमा राजनीतिक स्थायित्व र विकास अघि बढाउन नयाँ गठबन्धन आवश्यक परेको गठबन्धनका नेताहरुले बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता गिरी दोस्रोपटक मुख्यमन्त्री बन्न लाग्नुभएको हो । २०७९ पुस २७ गते पहिलोपटक मुख्यमन्त्री बन्नु भएका गिरी पाँच महिनापछि सरकारबाट बाहिरिनुभएको थियो ।

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराद्वारा पदबाट राजीनामा

लुम्बिनी प्रदेशको अब बन्ने सरकारमा एमाले र कांग्रेसले ५/५ मन्त्रालय लिने, मन्त्रालयको संख्या नबढाउने छलफल भएको बताइएको छ । साना दलहरुलाई पनि नयाँ बन्ने सरकारमा समावेश गराउनेबारे छलफल भइरहेको एमाले सचेतक तुलसीप्रसाद चौधरीले बताउनुभयो ।

कुन मन्त्रालय कसले लिने र कसलाई मन्त्री बनाउनेबारे एक/दुई दिनभित्रै टुंगो लाग्ने र सबै मन्त्रीले एकैपटक शपथ लिने र सरकारलाई पूर्णता दिने पनि सचेतक चौधरीले बताउनुभयो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।