ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : प्रदीप पौडेल

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको बताउनुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्द्धमा रहनुभएको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन ।'

सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या साबित गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

'परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ,' उहाँले भन्नुभयो, 'झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशका लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो-यो गर्नुभयो भनेर भन्नेसक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement