बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

हेटौँडा । कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ ।

३ महिना अघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जमकट्टेललाई दिएको समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरिएको हो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई एमालेका मन्त्रीहरूको तर्फबाट सामूहिक राजीनामा बुझाउनु भएको हो । बागमती प्रदेशमा एमालेका ५ जना मन्त्री थिए । 

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन, वन तथा वातावरण, स्वास्थ्य र खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालयमा एमालेका मन्त्रीहरू रहेका थिए । 

संसद्का दुई ठूला दल मिलेर सरकार बनाउने सहमतिपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संवैधानिक व्यवस्था अनुसार सदनबाट विश्वासको मत लिनुहुने भएको छ । एक सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा कांग्रेस र एमाले मिल्दा नै ६४ पुग्छ । सरकार बनाउन आवश्यक ५६ मत जुटाउन मुख्यमन्त्री जम्मकट्टेललाई असम्भव देखिन्छ ।

माओवादी केन्द्र सहितका बाँकी सबै दल मिल्दा पनि ४६ मत मात्रै पुग्छ । पार्टी अध्यक्ष पुष्पकमाल दाहालकै सिको गर्दै विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने मिति भने तय भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement