सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक छलफलमा

कांग्रेसका कमल बहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बन्ने तयारीमा
सरकारबाट बाहिरिने एमालेको तयारी
असार १९, २०८१ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक छलफलमा

धनगढी । केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

अहिले नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन् तर नयाँ समीकरण पछि अब एमाले सरकारबाट बाहिरिने तयारीमा छ । एमालेले सरकार छोड्ने बित्तिकै सोडारी नेतृत्वको सरकार अल्पमतमा पर्ने छ । नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलका नेताहरूबीच छलफलसमेत भएको छ । 

पूर्व मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले  सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा दुवै दलबीच  छलफल भएको बताउनुभयो । नयाँ समीकरण बनी सकेकाले प्रदेशमा पनि मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको छ । 

सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा सरकार बन्ने उहाँले बताउनुभयो । असार १ गते बजेट आए पनि  अहिले सम्म बजेट पारित पनि भएको छैन । बजेटको रातो किताब सार्वजनिक हुनु अघि ई-कपी सार्वजनिक भएकाले एमाले पनि रुष्ट भएको छ । रातो किताब पनि आई नसकेको र बजेट माथि छलफल समेत नभएकाले अब नयाँ सरकार गठन भएपछि आगामी आर्थिक वर्षको बजेट पुनः ल्याइने देउवाले बताउनुभयो । 

५३ सदस्यीय प्रदेशसभामा सरकार बन्नका लागि २७ प्रदेशसभाको समर्थन चाहिन्छ ।  त्यहाँ कांग्रेसका १८ र एमालेका ११ गरी २९ जना छन् ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।