एमालेसँग विद्रोह गरेको ३३ महिनापछि एकीकृत समाजवादीको दशौं महाधिवेशन

निरन्तर सत्तामा रहँदासमेत न विचार नत आकार नै
नेतृत्वका लागि भने तँछाडमछाड
असार १६, २०८१ |विकास आचार्य
एमालेसँग विद्रोह गरेको ३३ महिनापछि एकीकृत समाजवादीको दशौं महाधिवेशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थापनाको ३३ महिनापछि महाधिवेशनमार्फत आफ्नो नेतृत्व चयन गर्दै छ । एकीकृत समाजवादी स्थापनायता निरन्तर सत्तामा छ । तर, संसदीय अंकगणितमा भने निकै खुम्चिएको छ ।

एमालेबाट २३ सांसद लिएर बनेको यो पार्टी अहिले प्रतिनिधिसभामा जम्मा १० सिटमा सीमित छ । यो पार्टी अहिले न सत्ता समीकरणका लागि निर्णायक छ न सांगठनिक रुपमै बलियो । नेताहरुले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्दा विभाजनका बेला पार्टीमा लागेका नेता-कार्यकर्ता एमालेमै फर्किन थालेका छन् ।

पार्टी विभाजन गर्न सहज हुने गरी तत्कालीन शेरबहादुर देउवा सरकारले ल्याइदिएको अध्यादेशको बलमा २०७८ भदौ २ गते २३ सांसद्को सनाखतबाट नेकपा एकीकृत समाजवादी जन्मिएको थियो । के एकीकृत समाजवादीले यसबीचमा फुटको औचित्य पुष्टि गर्न सकेको छ त ?

पछिल्ला ३३ महिनामा तीनपटक सत्ता गठबन्धन परिवर्तन भयो । तर, एकीकृत समाजवादी निरन्तर सत्तामा छ । चुनावअघिको देउवा सरकार होस् वा चुनावपछिको दाहाल सरकार, एकीकृत समाजवादीका नेता मन्त्री बनेकै छन् । गठबन्धन फेरबदलबारे दाहालले कुनै सल्लाह नगरे पनि सरकारमा उसको उपस्थिति हटेको छैन । संसदीय अंकगणितमा विभाजन हुँदा २३ सिट रहेको यो पार्टी अहिले घटेर १० मा झरेको छ । विभाजन हुँदा आफूहरु बलियो कम्युनिस्ट शक्ति रहेको बताउने नेकपा एकीकृत समाजवादीको यो अवस्था पुगेको हो ।

प्रज्ञा प्रतिष्ठानमा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन

देशभर संगठन विस्तार गरेको दाबी गरे पनि चुनावमा गठबन्धनको सहारा लिनुपर्‍यो र भागमा जति पर्‍यो उत्तिमा चित्त बुझाउनुपर्‍यो । अझ, राष्ट्रिय पार्टीसमेत बन्न नसकेको एकीकृत समाजवादीका लागि इलाममा भएको उपनिर्वाचन त लज्जास्पद नै बन्यो । नेता झलनाथ खनालको गृहजिल्लामा जम्मा चार सय आठ मत पाउनुले पनि उसको जनाधार स्पष्ट पारिदिएको छ । अर्कोतिर पार्टीका संस्थापकमध्येकै १९ पदाधिकारीमध्ये मुकुन्द न्यौपाने, केदार न्यौपाने र भागवत विश्वासी एमालेमै फर्किसकेका छन् भने देशभरबाट ५० प्रतिशत कार्यकर्ता एमालेमा फर्किसकेको पार्टीकै नेताहरुको दाबी छ ।

एकीकृत समाजवादीले यो ३३ महिनामा न संगठन बनाउन जोडबल गर्‍यो न पार्टी किन कमजोर भयो भनेर गम्भीर समीक्षा नै गर्‍यो । केबल सत्ता भागबन्डामै रुमल्लिइरह्‍यो । तर पनि नेताहरुमा नेतृत्वमा पुग्न हानथाप छ । पार्टीको जनाधार र अस्तित्वमै संकट आइरहेका बेला पनि वर्तमान अध्यक्ष माधवकुमार नेपाल भने संगठन सुदृढीकरणको साटो अन्य दलको बुई चढेर प्रधानमन्त्री बन्ने सपना देखिरहनुभएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।